
काठमाडौं, ७ पुस । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकासका लागि राजनीतिक स्थायित्व आवश्यक हुने भए पनि यस पटकको निर्वाचनमा शहरी क्षेत्रको सचेत मतदाताले त्यसका विरूद्धमा मत जाहेर गरेको बताएका छन् ।
पार्टीको स्थानीय विकास विभागको पाँचौं बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमालेलाई बलियो राष्ट्रिय शक्ति बन्न नदिने योजनामा बाह्य शक्तिहरू सफल भएको उल्लेख गर्दै सचेत मतदाताहरू नै राजनीतिक स्थायित्वको विरुद्धमा लागेको बताएका हुन् ।
महासचिव पोखरेलले राजनीतिमा धार्मिक एजेण्डाप्रति रुचि बढेको र पश्चिमा संस्कृतिको प्रभाव गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा देखिएको बताउँदै त्यो जनमत राष्ट्रिय दलबाट नयाँ पार्टीमा डाइभर्ट गराउने काममा अस्थिरता चाहने शक्तिहरु सफल भएको धारणा व्यक्त गरे ।

राजनीतिक अराजकता, सामाजिक तथा साँस्कृतिक विश्रृङ्खलता र आर्थिक अधोपतनतर्फ गइरहेको मुलुकलाई सही बाटोमा अगाडि बढाउनु अहिलेको मुख्य चुनौती रहेको उनको भनाइ छ ।
पार्टीका पोलिटव्यूरो सदस्य तथा स्थानीय विकास विभागका प्रमुख देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकमा महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय पार्टीसँगको अन्तरसम्बन्ध र स्थानीय तहबाट नागरिकले पाउनुपर्ने सेवाका बारेमा महत्वका साथ ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।















प्रतिक्रिया