
काठमाडौं, ७ पुस । नेकपा एमालेका सचिव एवम् प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) कांग्रेस नेतृत्वको वर्तमान गठबन्धनमा बसिरहन नमिल्ने बताएका छन् ।
आज बिहीबार संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा सदस्यको सपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पाँच दलीय गठबन्धन सिद्धान्तलाई तिलाञ्जली दिएर स्वार्थका लागि मात्रै निर्माण भएकाले अझै माओवादी र नेकपा एस गठबन्धनमै रहन नहुने बताएका हुन् ।
‘यो गठबन्धन चुनावसम्म मात्रै हो, सैद्धान्तिक पनि थिएन र खास स्वार्थमा बनेको भनेर उहाँहरूले महसुश गर्नुपर्ने बेला आएको छ,’ भट्टराईले भने, ‘मेरो विचारमा माओवादी र एकीकृत समाजवादी गठबन्धनमा बसिरहन मिल्दैन । उहाँहरू बस्नुहुन्छ कि बस्नुहुन्न त्यो उहाँहको कुरा हो । बस्नुभयो भने नेपाली कांग्रेसको नेतृत्व स्वीकार गरेर जानुपर्यो । बस्नुभएन र अलग ढंगले जाऔँ भन्नुभयो भने नेकपा एमालेले सबैसँग सम्वाद अगाडि बढाउँछ । तथापी हामी त्यसमा हतारिएका छैनौँ ।’
भट्टराईले भनेको जस्तो अवस्था सृजना भए पहिलो कार्यकाल प्रचण्डलाई दिन सक्नुहुन्छ भन्ने सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफमा उनले भने, ‘गठबन्धन छोडेर उहाँहरू निस्कनुभयो भने नयाँ धरातलमा कुरा हुनेछ । शर्तहरूसहित भन्दा शर्तहरूरहित ढंगले छलफल गर्न एमाले तयार हुन्छ ।’
मुलुकमा अस्थिरता सृजना हुन नदिन तथा विकास र समृद्धिको अभियानलाई तीव्र रूपमा अगाडि बढाउन पनि गठबन्धनभित्रका दलहरूले गम्भीर भएर सोच्नपर्ने बेला भएको नेता भट्टराईको भनाई छ ।
गठबन्धन कायम रहे गठबन्धनकै सरकार निर्माण हुने अवस्था नजिक रहेको भट्टराईले बताएका छन् । तर, गठबन्धनभित्र पनि विभिन्न दलहरू रहेकाले सोचेजस्तो सहज नभएको उनको टिप्पणी छ ।















प्रतिक्रिया