
काठमाडौं, ५ पुस । प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरुको सपथ बिहीबार हुँदैछ । सांसदहरुलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सपथ गराउने छन् ।
जबरालाई भने बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउनेछिन् ।
यस्तै, नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।
हेरौँ मंगलबार दिनभरका मुख्य–मुख्य हेडलाइनहरु–
१. जबराले सपथ खुवाउने : प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई बिहीबार ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सपथ गराउँदै, जबरालाई ज्येष्ठ सदस्यका रूपमा शपथ गराउने व्यवस्थाका लागि संसद सचिवालयद्वारा राष्ट्रपति कार्यालयलाई पत्राचार ।
२. अध्यक्ष ओली दलको नेता चयन : नेकपा एमाले संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली चयन, उपाध्यक्ष विष्णु पौडेल प्रस्तावक र अर्का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको समर्थनमा सर्वसम्मत ।
३. डरलाग्दो सन्देश : सरकार गठनका क्रममा भइरहेको लेनदेन र सेटिङको खेल मुलुकका लागि डरलाग्दो सङ्केत भएको एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाई, एमालेबाहेकका राजनीतिक दलहरू स्वार्थ र लेनदेनका आधारमा चलेको आरोप ।
४. देउवा र थापाबीच प्रतिस्पर्धा : नेपाली कांग्रेस संसदीय दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाबीच प्रतिस्पर्धा हुँदै, देउवालाई रामचन्द्र पौडेल तथा गगन थापालाई शेखर कोइराला, धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेललगायतको साथ ।
५. पोखरेलको चिन्ता : मुलुकमा लोकतान्त्रिक गणतन्त्र नै सङ्कटमा पार्ने खालका गतिविधि बढ्न थालेकामा एमाले महासचिव शंकर पोखरेलद्वारा चिन्ता व्यक्त, तत्कालीन नेकपाले जनतामा जान गरेको फैसला सही साबित भएको जिकिर ।
६. अस्पतालमा माधव नेपाल : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना, रुघाखोकी, ज्वरोका साथै छातीमा संक्रमण देखियो ।
७. केन्द्रीय सदस्य निलम्बित : अखिल क्रान्तिकारीकी एक महिला कार्यकर्तालाई अश्लिल म्यासेज पठाउने माओवादी केन्द्रका केन्द्रीय सदस्य बद्री बजगाईँ केन्द्रीय समितिबाट निलम्बित, सत्य तथ्य बुझेर आवश्यक छानविन गरी लिखित प्रतिवेदन १० दिनभित्र पेश गर्न अनुशासन आयोगलाई निर्देशन ।
८. सरकारी कुलो नै व्यक्तिको नाममा : सार्वजनिक कुलो व्यक्तिको नाममा गर्ने भैरहवा नापी कार्यालयका तत्कालीन अधिकृतहरु धु्रवराज मरासिनी र विन्देश्वर यादवसहित १४ जनाविरुद्ध अख्तियारद्वारा मुद्दा दायर, सरकारी कुलोको फायल नक्सा बनाउँदा व्यक्तिको जग्गामा गाभेको अभियोग ।
९. लिङ्देन दलको नेता चयन : राप्रपा संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन सर्वसम्मत चयन, दलको उपनेता र प्रमुख सचेतक पछि टुङ्ग्याइने ।
१०. राउतलाई जिम्मा : मधेस प्रदेशमा जनमत पार्टीबाट दलको नेता छान्ने जिम्मा अध्यक्ष डा. सीके राउतलाई, संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, वसन्त कुशवाहा, सतिश सिंह, महेशकुमार यादवलगायत नेता आकांक्षी ।
११. रुपनी तनावग्रस्त : सप्तरीको रुपनीमा टीपरको ठक्करबाट १२ वर्षीया बालिकाको मृत्यु भएपछि स्थानीयद्वारा प्रदर्शन, प्रदर्शनकारीले गरे प्रहरी कार्यालयमै आक्रमण, प्रहरीद्वारा १० राउण्ड हवाई फायर ।
१२. राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र : नेपालका लागि तीन वटा देशका राजदूतले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाए ओहोदाको प्रमाणपत्र, प्रमाणपत्र बुझाउनेहरुमा युएईका राजदूत अब्दुल्ला सइद मुवारक जरवन अलसामसी, संयुक्त ताञ्जानियाका कापुफी एमबेगा र सर्बियाका सिनिसा पेभिक ।
१३. वर्षमान पुनलाई स्वास्थ्यललाभ : वंशाणुगत जण्डिशबाट ग्रसित माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन चीनमा स्वास्थ्य उपचार गराएर स्वदेश फिर्ता, स्वास्थ्यमा सन्तोषजनक प्रगति भएको भनाई ।
१४. ग्यास सिलिण्डर विष्फोटबाट मृत्यु : पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको लासबेला जिल्लाको एक बजारमा ग्यास सिलिण्डर विष्फोट हुँदा कम्तीमा १२ जनाको मृत्यु, १३ जना घाइते ।
१५. खेल्ने टोलीको टुंगो : मोफसलको चर्चित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २२औँ संस्करणमा सहभागिता जनाउने १० वटा टोलीको टुङ्गो लाग्यो, विजेताले १२ लाख रुपैयाँ पुरस्कार पाउने ।















प्रतिक्रिया