
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा लोकतान्त्रिक गणतन्त्र नै सङ्कटमा पार्ने खालका गतिविधि बढ्न थालेप्रति चिन्ता व्यक्त गरेका छन् ।
आज मंगलबार एमालेले काठमाडौंमा आयोजना गरेको ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ विशेष कार्यक्रममा महासचिव पोखरेलले मुलुकलाई नीति, विचार, लक्ष्य र उद्देश्यविहीन दिशातर्फ अघि बढाउने दुष्प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । उनले अहिले मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्र नै सङ्कटमा पर्ने खालका गतिविधिहरु भइरहेको बताए ।
नेकपा भएको बेलामा कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने षड्यन्त्रलाई चिर्न जनतामा जाने गरिएको स्मरण गर्दै उनले उक्त फैसला सफल बन्न नदिएपछि मुलुकमा अस्थिरता सृजना भएको पोखरेलको टिप्पणी छ । तत्कालीन अवस्थामा नै जनतामा जाने फैसलालाई कार्यान्वयन गरिएको भए आजसम्म मुलुकले विकास र समृद्धिको बाटो समातिसक्ने उनको भनाइ छ ।
‘यदि पुस ५ गते हाम्रो पार्टीको नेतृत्वमा जनतामा जाने फैसलालाई कार्यान्वयन भएको भए आज मुलुकले विकास र समृद्धिको बाटो समातिसकेको हुने थियो,’ महासचिव पोखरेलले भने, ‘आज जुन प्रकारको राजनीतिक अस्थिरताका प्रवृत्तिहरु देखापरेका छन्, त्यसबाट हामीले मुलुकलाई सही बाटो प्रदान गर्न सक्थ्यौँ । तर मुलुकलाई नीतिबिहीन, विचारबिहीन, लक्ष्य, उद्देश्यविहीन राजनीतितर्फ अघि बढाउने प्रयास भएको छ ।’
महासचिव पोखरेलले चुनावपछि मुलुकको राजनीतिमा सुरू भएका अस्थिरताका खेलहरुले नेकपा एमालेले अघि सारेका मान्यताहरु सही साबित गरिदिएको दाबी पनि गरेका छन् । उनले राष्ट्रिय राजनीतिमा नेकपा एमाले बलियो शक्तिका रुपमा स्थापित भइरहेको जिकिर गरेका छन् ।
महासचिव पोखरेलले सबै दलहरु मिलेर पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई घेराबन्दी गरे पनि जनताले लोकप्रिय मतका साथ आफ्नो नेतामा ओलीलाई नै चुनेको बताए ।















प्रतिक्रिया