१ कार्तिक २०८३, शनिबार

दिनभरका TOP 15 NEWS

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ पुस । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सफल रुपमा सम्पन्न भएको अवसरमा सोमबार जलपान कार्यक्रम आयोजना गरेको छ ।

जलपान कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका उच्च पदस्थ व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नवनिर्वाचित सांसदहरुलाई निर्वाचन आयोगका प्रमुख आयुक्त दीनेशकुमार थपलियाले बधाई तथा शुभकामना दिएका थिए ।

यस्तै, प्रतिनिधि सभामा निर्वाचित सांसदहरुलाई पुस ७ गते सपथ गराइने भएको छ । पुस ७ गते दिउँसो १ बजेका लागि सपथको समय तोकिएको छ ।

यस्तै, सरकार गठनका लागि विभिन्न शीर्ष पार्टीका नेताहरुको दौडधुप जारी नै छ । सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । दुई नेताबीच सरकार गठनकै विषयमा छलफल भएको बताइएको छ ।

हेरौँ सोमबार दिनभरका मुख्य–मुख्य हेडलाइनहरू–

१. जलपान कार्यक्रम : प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन सम्पन्न भएको अवसरमा निर्वाचन अयोगले गर्‍यो जलपान कार्यक्रम, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च पदस्थ व्यक्तिहरु सहभागि ।

२. सांसदको सपथ : प्रतिनिधिसभामा निर्वाचित सांसदको शपथ पुस ७ गते बिहीबार दिउँसो १ बजे हुने, मातृभाषामा सपथ लिनेले तीन दिनअगाडि नै जानकारी दिनुपर्ने ।

३. मन्त्री परिषद्को निर्णय : बाल आहारको गुणस्तर मापदण्ड निर्धारण गर्नेसम्बन्धी आदेश स्वीकृत गर्ने सरकारको निर्णय, खाद्य पदार्थमा रहेको हेभी मेटलको अधिकतम मात्रा निर्धारण गर्नेसम्बन्धी आदेश र मौसमी कामदार व्यवस्थापन निर्देशिका मन्त्रिपरिषदद्वारा स्वीकृत ।

४. स्थानीय तहलाई नै आत्मनिर्भर बनाऔँ : स्थानीय तहलाई क्रमश: आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवाको जोड, स्थानीय सरकार जनताको सेवामा प्रतिवद्ध हुनुपर्ने भनाई ।

५. बुधबार निर्वाचन : नेपाली कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री गगन कुमार थापा र नेता शेखर कोइराला आकांक्षी देखिएपछि बुधबार निर्वाचन गरिँदै, मंगलबार दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गरिसक्नुपर्ने ।

६. गठबन्धनबाटै प्रधानमन्त्री : पुस १० गतेभित्र नयाँ सरकार बन्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाबी, सहमतिबाट सजिलैसँग सरकार गठन गरिने भनाइ ।

७. दाहाल र नेपालबीच भेटवार्ता : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपालबीच भेटवार्ता, सरकार गठन लगायत समसामायिक राजनीतिक विषयमा कुराकानी ।

८. संसदीय दलको नेता चयन : राष्ट्रिय स्वतन्त्र पार्टीमा रवि लामिछाने, नेकपा एकीकृत समाजवादीमा माधव नेपाल र जनमत पार्टीमा सीके राउत बने संसदीय दलको नेता, एजेण्डामा सहमति भए मात्रै सरकारमा जाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाइ ।

९. झण्डै राजीनामा : निर्वाचन परिणाम आउने बित्तिकै आफूले पदबाट राजीनामा दिन खोजेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको खुलासा, पार्टीभित्र छलफल गर्दा समस्या आउने देखेर पछि हटेको स्पष्टीकरण ।

१०. कम्युनिष्ट सरकार बन्दैन : कम्युनिष्ट आन्दोलन बिसर्जन भइरहेको देख्दादेख्दै आफूहरू वामपन्थी सरकार बनाउने अवस्थामा फर्किन नसक्ने नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको भनाई, कम्युनिष्टमात्रै र कम्युनिष्टरहितको सरकार बन्नै नसक्ने दाबी ।

११. एसपीहरुको सरुवा : प्रहरी प्रधान कार्यालयद्वारा २३ जना प्रहरी उपरीक्षकरूको काज सरुवा, पर्सा र बाँकेलगायत ८ वटा जिल्लाका प्रहरी उपरीक्षकहरू हेरफेर ।

१२. दुर्घटनामा वडा सदस्यको मृत्यु : आफैंले चलाएको बोलेरो जीप दुर्घटनामा परी गम्भीर घाइते भएका लिखु तामाकोशी गाउँपालिका–१ का निर्वाचित सदस्य विमल सुनुवारको मृत्यु, अन्य घाइतेहरुको उपचार जारी ।

१३. बोल्न प्रतिबन्ध लगाइएको छैन : आफ्ना सांसदहरूलाई अभिव्यक्ति दिन प्रतिबन्ध नलगाइएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाइ, सोमबारदेखि बुढानीलकण्ठमा जारी बैठक मंगलबार मात्रै सकिने ।

१४. नौसेनाको जहाज डुब्यो : थाइल्याण्डको दक्षिणपूर्वी तटमा सोमबार डुङ्गा डुब्दा कम्तीमा ३१ जना नौसेना बेपत्ता, जहाजमा रहेका १०६ जनामध्ये ७५ जनालाई दुई वटा हेलिकोप्टर, दुई वटा फ्रिगेट र एउटा पानी जहाजको सहयोगमा उद्धार ।

१५. पूरा भयो मेस्सीको इच्छा : विश्वकप जित्ने दशकौँको सपना ‘फिफा विश्वकप कतार–२०२२’ले पूरा गरेकोको अर्जेन्टिनी स्टार लियोनल मेसीको भनाई, राष्ट्रिय टीमबाट सन्यास नलिने ।