
काठमाडौं, ३ पुस । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी फागुन १५ गतेअगावै राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गराइसक्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गर्न आयोगमा आयोजित कार्यक्रममा थपलियाले फागुन दोस्रोसातासम्म हालका राष्ट्रपतिको कार्यकाल रहेकाले उक्त समयअगावै आयोगले सबै काम पूरा गरी नतिजा हस्तान्तरण गर्ने बताएका हुन् ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न आयोगलाई बढीमा एक महिनाको समय भए पुग्ने उनको भनाइ छ । नेपालको संविधान बमोजिम संविधान जारी भएपछि दोस्रो पटक भएको आम निर्वाचनको सम्पूर्ण काम पूरा गरी राष्ट्रपतिसमक्ष प्रतिवेदन समेत बुझाइसकिएको र अब आयोग राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी तर्फ केन्द्रित हुने थपलियाको भनाइ छ ।
‘राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका सन्दर्भमा हामीले बढीमा फागुनको १५ गतेभित्र यो सम्पूर्ण कार्य गरेर नतिजा दिइसक्नुपर्ने अवस्था छ । यसको निम्ति आयोगलाई त्यति लामो समय आवश्यक पर्दैन झण्डै झण्डै एक महिनाको समय भयो भने हामी सबै कार्यहरू सम्पादन गर्न सक्छौँ,’ प्रमुख आयुक्त थपलियाले भने, ‘अब प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्य नै उक्त निर्वाचनको निम्ति निर्वाचक मण्डलको सदस्य हुने भएको हुँदा दुवै सभाको सपथग्रहण सम्पन्न हुनासाथ हामी मतदाता नामावली तयार गरेर आवश्यक प्रक्रिया प्रारम्भ गर्छौँ ।’
राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव आयोगको कार्यक्षेत्रभित्र पर्ने भएकाले संघीय र प्रदेश संसद्हरू सुचारु भएपछि त्यसको प्राविधिक तयारी गर्ने उनको भनाइ छ । उनले फागुन दोस्रो सातासम्म हालका राष्ट्रपतिको कार्यकाल रहेकाले सोही मितिअगाडि सबै काम पूरा गर्ने गरी आयोग अघि बढ्ने जानकारी दिए ।
निर्वाचनको प्रतिवेदन राष्ट्रपति र प्रदेशप्रमुखहरूसँग पेस गरिसकेकाले संसद्को अधिवेशन आह्वानका लागि मार्गप्रशस्त भएको उनको भनाइ छ ।
त्यस्तै प्रमुख आयुक्त थपलियाले आयोगले यो निर्वाचनबाट सिकेका सिकाई र अनुभवका आधारमा आगामी दिनमा नीतिगत, कानुनी, व्यवस्थापकिय र अन्य सम्बोधन गर्नुपर्ने विविध सवाललाई उपयुक्त ढङ्गले सम्बोधन गर्दै आगामी निर्वाचन अझै व्यवस्थित र प्रभावकारी बनाउने गरी आवश्यक प्रक्रिया सुरु गर्ने बताए ।















प्रतिक्रिया