
बैतडी, २९ मंसिर । बैतडीको सुन्दरखालीमा सम्पन्न अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ ।
बुधबार सम्पन्न फाइनल खेलमा मेलौलीले दशरथचन्द नगरपालिकालाई ३–१ ले पराजित गरेको हो ।
पहिलो सेट दशरथचन्दले २५–२३ अंकले जितेको थियो । त्यसपछि मेलौलीले २५–२१, २५–१९ र २५–१६ अंकले लगातार खेल जित्दै उपाधि रक्षा गरेको हो ।
उपाधिसँगै मेलौलीले रु एक लाख २५ हजार र ट्रफी प्राप्त गर्यो । उपविजेता दशरथचन्दले रु ७५ हजार र ट्रफी पायो । तेस्रो भएको पाटन नगरपालिकाले रु ३५ हजार पुरस्कार प्राप्त गर्यो ।
विजेता, उवविजेता र तेस्रो भएको टोलीलाई दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी, मेलौली नगरपालिकाका प्रमुख भीमबहादुर चन्द, दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्द, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले पुरस्कार वितरण गरेका थिए ।
तेजबहादुर चन्द ट्रष्टको आयोजनामा यही मंसिर २५ गतेदेखि प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा नौ स्थानीय तहसहित १० टोली सहभागी भएका ट्रष्टका सचिव विनोदबहादुर चन्दले जानकारी दिए ।















प्रतिक्रिया