
काठमाडौं, २८ मंसिर । काठमाडौंको तारकेश्वर नगरपालिकास्थित चिसापानीमा टिपरले ठक्कर दिएर घाइते भएका सविन फुँयालको घाँटी रेटेर वीभत्स हत्या गरेको प्रकरणमा प्रहरीले हत्या जाहेरी लिन नै लिएको छैन । प्रहरीले हत्या जाहेरी लिन नमानेपछि स्थानीयहरु आन्दोलित भएका छन् ।
प्रहरीले सडक दुर्घटनासँग सम्बन्धी जाहेरी मात्रै लिने र हत्याको जाहेरी नलिने बताएपछि स्थानीयहरुले बुधबार बिहानैदेखि तीनपिप्ले सडकखण्ड अवरुद्व बनाएका छन् । स्थानीयहरुले हत्या आरोपमा उजुरी लिनुपर्ने र प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई रिहाई गर्नुपर्ने माग राखेका छन् ।

बा ५ ख ६७७९ नम्बरको टिपरले आइतबार राति ठक्कर दिँदा तारकेश्वर–३ कै २३ वर्षीय सविन फुयाँल घाइते भएका थिए । घाइते उनलाई दुर्घटनास्थल भन्दा पर लगी साबेलले रेटेर हत्या गरिएको मृतकका परिवार र आफन्तहरूले दाबी गरेका छन् । उनीहरूका अनुसार बागमती प्रदेश ०२–०२५ प ६१८९ नम्बरको मोटरसाइकलमा सवार फुयाँललाई सुरूमा टिपरले ठक्कर दिँदा एउटा खुट्टा भाँचिनुबाहेक अन्य अवस्था सामान्य थियो । तर, पछि दुर्घटनास्थलबाट केही पर पुर्याएर उनको हत्या भएको दाबी गरिएको छ ।
घटनास्थलभन्दा केही पर बालुवाको थुप्रोमा मृतकको शव भेटिनु, प्रहरीले घटनास्थलको मुचुल्का तथा प्रत्यक्षदर्शी र स्थानीयको बयान नलिनु, घटनास्थल शिल नगरिनु र फोटो तथा भिडियो समेत डिलिट गरिनुलगायत गतिविधिले दुर्घटनापछि युवकको हत्या भएको दाबी परिवारले गरिरहेको छ ।
उनीहरूले घटनालगत्तै दुर्घटनास्थल पुगेको प्रहरीले गर्नुपर्ने सामान्य काम समेत नगरेको र भएका सबै प्रमाणहरू समेत नष्ट गरिदै जानु तथा पीडतको तर्फबाट जाहेरी लिन अस्वीकार गर्नुले पनि सविनको हत्या भएको पुष्टि गरेको बताएका छन् । पीडितका आफन्तहरुले घटनामा प्रहरीको मिलेमतो रहेको आरोप लगाइरहेका छन् । दुर्घटनापछि घटनामा संलग्न रहेकाहरूमध्ये प्रहरीले मुख्य अभियुक्त भनिएका विमल बलामीलगायत तीन जनालाई पक्राउ गरेको छ भने अझै दुई जना फरार रहेको बताइएको छ । पक्राउ परेका तीन जनामध्ये बिमलबाहेक अन्यको नाम समेत खुलाइएको छैन ।
पक्राउ परेका बलामी गत स्थानीय निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका–१ मा अध्यक्षमा निर्वाचन लडेर पराजित भएका थिए । बिमल गुण्डागर्दी पृष्ठभूमिको भएको खुल्न आएको छ । साथै उनका भाइ समेत घटनामा संलग्न भएको आशंका गरिएको छ । यसअघि अन्य कुनै घटनामा पक्राउ परेका बिमलका भाइ आइतबार मात्रै रिहा भएको स्रोतको दाबी छ ।
भाइ रिहा हुनुलगत्तै सविनको हत्या हुनुले घटनालाई थप रहस्यमय बनाएको छ ।















प्रतिक्रिया