४ कार्तिक २०८३, बुधबार

सवारी साधन यान्त्रिक परीक्षण सुरू

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, २७ मंसिर । दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण सुरूआत गरेको छ ।

बिग्रिएपछि मात्र मर्मत गराउने बानीको अन्त्य गराई सवारीसाधन गुडाउनुपूर्व परीक्षण गराउने जागरण ल्याउन ट्राफिक प्रहरीले पहिलोपटक यान्त्रिक परीक्षण थालेको हो ।

साताव्यापीरूपमा गरिने परीक्षणलाई धुञ्चेस्थित छ्योलिङ फ्रेण्डसीप ग्रुप वर्कशप धुञ्चेले निःशुल्क सहयोग गरिरहेको ट्राफिक प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

रसुवा ट्राफिक प्रमुख उज्जवलकुमार घलेका अनुसार बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनको निर्देशनमा पासाडल्हामु मार्गमा गुड्ने सबैखाले सवारीसाधनको यान्त्रिक परीक्षण थालिएको हो ।

यही मंसिर २५ गतेबाट सुरू गरिएको यान्त्रिक परीक्षणअन्तर्गत दुई दिनमा आधा दर्जन मोटरसाइकलमा भने खराबी भेट्टिएको र पूर्णरूपको मर्मत गरेर मात्र सञ्चालन गराउन सुझाव दिइएको छ । सवारी नियम उल्लङ्घन गर्ने सयौँ सवारीधनी कारबाहीमा परिसकेको ट्राफिक प्रमुख घलेले जानकारी दिए ।

चीनसँगको कारोबार गर्ने नेपालको उत्तरी रसुवागढी अन्तर्राष्ट्रिय नाकासमेत भएका कारण यहाँ मालसामग्री लिन आउने अधिकांश सवारीसाधनले यातायात कार्यालयबाट प्रदान गर्ने सडक अनुमतिपत्र नल्याउने, बिलबुक तथा सवारी चलाउने अनुमतिपत्रलगायतका आवश्यक कागजात नबोक्ने, ट्राफिक नियम पालना नगर्ने समेत समस्या रहेको बताइएको छ ।

यस्तै रसुवा जिल्ला पर्यटकीय क्षेत्रसमेत भएको र तोकिएको सवारी प्लेटभन्दा अन्य सवारीसाधनले समेत नियमविपरीत पर्यटक बोक्ने गरेका कारण त्यस्ता सवारीसाधनसमेत कारबाहीमा पर्ने गरेको जनाइएको छ । रासस