
काठमाडौं, २६ मंसिर । जघन्य अपराध गरेर जेल जीवन व्यतित गरिरहेकाहरूलाई आममाफी दिन सरकारले आइतबार अध्यादेश ल्याउने निर्णय गरेपछि सरकार र गठबन्धन दलहरूको तीव्र आलोचना भइरहेको छ ।
अझ सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्रैबाट सरकारी निर्णयको चर्को विरोध भइरहँदा सरकारलाई निर्णय टिकाउन हम्मे पर्ने स्थिति देखिएको छ । यद्यपि, आफू प्रधानमन्त्री बन्ने सहज वातावरणका लागि चालिएको यो कदम सहजै फिर्ता हुने अवस्था देखिदैन ।
यस्तै, भावी सरकारलाई नै लक्षित गरेर नेताहरूबीच भेटवार्ताको क्रम पनि जारी छ । आइतबार साँझ केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता अर्जुन नरिसिंह केसीबीच भेटवार्ता र समसामयिक राजनीतिक छलफल भएको छ ।
खोटाङमा सञ्चालित विकास निर्माणका काममा ढिलासुस्ती र भ्रष्टाचार भएको भन्दै एमाले नेता रमेशकुमार पौडेलले प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईंको ध्यानाकर्षण गराएका छन् । उनले ढिलासुस्ती र भ्रष्टाचारमा संलग्नहरूलाई कारबाहीको दायरामा ल्याउन पनि माग गरेका छन् ।
हेरौँ सोमबार दिनभरमा प्रमुख हेडलाइनहरू–
१. दु:खद घटना : जाजरकोटको छेडागाड नगरपालिका–४ को भीरपाटीमा बिरामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा १० जनाको मृत्यु, दुई जना घाइते ।
२. अध्यादेशको चौतर्फी बिरोध : सरकारले अपराधीलाई आममाफी दिनेगरी अध्यादेश जारी गरेकामा सत्तारुढ दलभित्रै चर्को बिरोध, विभिन्न राजनीतिक दल र कानुनविद्हरुले गरे आलोचना ।
३. ओली र केसीबीच भेटवार्ता : प्रतिनिधि सभामा झापा–५ बाट निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओली र नुवाकोट–२ बाट निर्वाचित कांग्रेस नेता अर्जुन नरिसंह केसीबीच भेटवार्ता, आपसमा शुभकामना तथा बधाई साट्नका साथै समसामयिक राजनीतिक विषयमा छलफल ।
४. सरकारले दियो स्पष्टिकरण : हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल र समूहलाई मुलधारमा ल्याउन अध्यादेश जारी गर्नपरेको सरकारको प्रष्टिकरण, अध्यादेशले मुलुकको विकास तथा आन्तरिक एकतामा योगदानको वातावरण बन्ने सरकारको विश्वास ।
५. अफ्ताब आलमलाई पनि आममाफीको तयारी : अध्यादेशमार्फत रेशम चौधरीका साथै जेलमा रहेका कुख्यात अपराधी काँग्रेस नेता अफताब आलमलाई पनि आममाफी दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी, नागरिकस्तरबाट चर्को विरोध ।
६. नेकपा एसले गर्यो अध्यादेशको बचाउ : सरकारले ल्याएको अध्यादेश रेशम चौधरीलाई छुटाउन मात्रै नभएको नेकपा एसका महासचिव बेदुराम भुसालको भनाइ, संसद नभएका बेला अध्यादेश ल्याएर कानून बनाउने अधिकार सरकारलाई रहेको जिकिर ।
७. अध्यादेशले संसदको अधिकार मिच्यो : अध्यादेश ल्याउने सरकारको कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भनाइ, नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको भन्दै निर्णय फिर्ता लिन सरकारलाई सुझाव ।
८. आन्दोलनको चेतावनी : अध्यादेश फिर्ता नगरे आन्दोलनको आँधीबेहरी सृजना गर्ने एमालेनिकट युवा संघ नेपालको चेतावनी, रेशम चौधरीको नाममा कांग्रेस नेता अफ्ताव आलमलाई छुटाउन खोजेको आरोप ।
९. देउवाले फेरि लगाए कलंकको टीका ! : अध्यादेश ल्याएर प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि एकपटक कलंकको टीका लगाएको एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको भनाइ, संविधानको मर्म, कानुनी राज र लोकतन्त्रको धज्जी उडाएको आरोप ।
१०. ठेकेदार वेपत्ता, काम ठप्प : मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ अक्षते–घोडाबाँधे खण्ड कालोपत्र जिम्मा लिएको ठेकेदार बेपत्ता हुँदा लोकमार्गको काम ठप्प, श्रेष्ठ निर्माण तथा ढुवानी सेवाका प्रमुख रामकाजी श्रेष्ठ एक महिनादेखि सम्पर्कविहीन ।
११. विकास निर्माणमा एमालेको चासो : खोटाङमा विकास निर्माणको काममा ढिलासुस्ती र भ्रष्टाचार गर्नेलाई कानुनी दायरामा ल्याउन माग, नेकपा एमालेका केन्द्रीय सदस्य रमेशकुमार पौडेलले गराए प्रमुख जिल्ला अधिकारी सूर्य प्रसाद सेढाईंको ध्यानाकर्षण ।
१२. पत्रकार बन्धक बनाउने मेयर : कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले पत्रकार खेम ढुंगानालाई बन्धक बनाएका भन्दै प्रेस चौतारी कैलालीले गर्यो भत्र्सना, सङ्कलित भिडिओ तथ्य र प्रमाणहरू डिलिट गराउनु प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार भएको भनाइ ।
१३. भाडा घट्ने आश : दाङको तुलसीपुर–१२ टरिगाउँस्थित विमानस्थलमा हवाई इन्धन ‘रिफ्युल’ गर्न सुरू, इन्धन बोक्ने सीटमा अब यात्रुलाई नै राखिने भएपछि भाडा घट्ने अपेक्षा ।
१४. घटाइयो प्रतितपत्रको सीमा दर : बङ्गलादेशमा अत्यावश्यक खाद्य वस्तुको प्रतीतपत्रको सीमा दर घटाउन बैंकहरूलाई केन्द्रीय बैंकको निर्देशन, आगामी इस्लामी पवित्र महिना रमजानमा खाद्यवस्तुको मूल्य उपभोक्ताको पहुँचमा राख्ने उद्देश्य ।
१५. फर्किए मनोज प्रभाकर : नेपाली राष्ट्रिय क्रिकेट टोलीका भारतीय प्रशिक्षक मनोज प्रभाकर स्वदेश फिर्ता, अब नेपालको जिम्मेवारीमा नफर्किने सङ्केत ।















प्रतिक्रिया