२ कार्तिक २०८३, सोमबार

पत्रकारमाथि भएको दुर्व्यवहारप्रति प्रेस चौतारी लुम्बिनीको ध्यानाकर्षण

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूपन्देही, २६ मंसिर । गत शनिबार नेपालगञ्जमा आयोजित नेपालगञ्ज म्याराथन प्रतियोगिताको समाचार संकलनमा रहेका पत्रकारमाथि भएको दुर्व्यवहारप्रति प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले आज एक विज्ञप्ति प्रकाशित गरी प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सह–इन्जार्ज रुद्र सुवेदी, प्रेस चौतारी नेपाल बाँकेका नेता खम्बप्रसाद पुनलगायत पत्रकारमाथि भएको दुर्व्यवहार निन्दनीय रहेको जनाएको हो ।

‘पत्रकारको पहिचान हुँदा–हुँदै पनि तस्वीर खिच्ने क्रममा आयोजक क्रियटिभ ह्याण्ड्स संस्थाका परिचालित कर्मचारीले समाचार सङ्कलनमा फिल्डमा खटिएका पत्रकारमाथि बल प्रयोग गरेर धकेल्ने कार्यको प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समिति निन्दा तथा भर्त्सना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

स्वतन्त्रतापूर्वक संवैधानिक अधिकार सहितको जिम्मेवारी वहन गरिरहेका पत्रकारमाथि भएको यो दुर्व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिको ठहर छ ।

समितिका महासचिव निरु गौतमद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाले प्रेस स्वतन्त्रताप्रतिको आस्थामाथि गम्भीर चोट पुगेको छ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समिति पत्रकारमाथि गरिएको यो ज्यादतीको घोर भर्त्सना गर्दै दोषीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्दछौँ ।’

साथै आगामी दिनमा पत्रकारलाई स्वतन्त्रतापूर्वक निर्वाध रूपमा समाचार संकलनको वातावरण बनाउन र यस्ता घटना दोहोरिन नदिन प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश समितिले सम्वद्ध सबै पक्षको ध्यानाकर्षण गराएको छ ।