१ कार्तिक २०८३, आइतबार

लम्कीचुहाकी मेयर सुशीला शाहीले पत्रकारलाई बन्धक बनाइन्, प्रेस चौतारीले गर्‍यो विरोध

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, २६ मंसिर । कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले न्यूज ट्वान्टीफोर टेलिभिजनका पत्रकार खेम ढुंगानालाई बन्धक बनाएकी छिन् ।

पत्रकार ढुंगानालाई बन्धक बनाएको घटनाप्रति प्रेस चौतारी नेपाल जिल्ला समिति कैलालीले भर्त्सना गरेको छ । मेयर शाहीले गुन्डागर्दी शैलीमा पत्रकारले सङ्कलन गरेका भिडिओसहितका तथ्य र प्रमाणहरू डिलिट गराउनु पत्रकारमाथि दुव्यर्वहार र अपमान मात्र नभई प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार भएको प्रेस चौतारी कैलालीको ठहर छ ।

‘लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले नगरपालिकाका सवारी साधन निजी घर निर्माणमा प्रयोग गरेको सूचनाका आधारमा रिर्पोटिङ गर्न गएका बेला बन्धक बनाएर सञ्चार सामग्रीहरु समेत नियन्त्रणमा लिएको घटनाप्रति प्रेस चौतारी नेपाल कैलालीको गम्भीर ध्यानाकर्षण भएको छ,’ सचिव जनक विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनलाई हातपात गर्दै नियन्त्रणमा लिइ नजिकैको होटेलमा दुई घण्टासम्म बन्धक बनाएर गुन्डागर्दी शैलीमा सबै भिडिओ डिलिट गराउनु पत्रकारमाथि दुव्यर्वहार र अपमान मात्र नभई प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार हो भन्ने हाम्रो ठहर छ ।’

नगरपालिकाका सवारीसाधन आफ्नो निजी घर निर्माणमा प्रयोग गरेको सूचनापछि समाचार सङ्कलनका लागि पुगेका न्यूज ट्वान्टी फोर टेलिभिजनका पत्रकार ढुङ्गानालाई मेयर शाहीले नियन्त्रणमा लिएर बन्धक बनाई भिडियो डिलिट गराएकी थिइन् । नजिकैको होटेलमा लगेर शाहीले आफूमाथि दुव्यर्वहार समेत गरेको पत्रकार ढुंगानाको दाबी छ ।

प्रेस चौतारी कैलालीले घटनाको छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।

यस्तै, पत्रकार महासंघ कैलालीले पनि विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ ।