१ कार्तिक २०८३, आइतबार

मुलुकको अबको प्राथमिकता स्थानीय सरकारको सबलीकरण गर्नु हो : प्रधानमन्त्री

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले अबको प्राथमिकता स्थानीय सरकारको सबलीकरण र नागरिकमा विकासको अनुभूति गराउने हुनुपर्ने बताएका छन् ।

आज आइतबार गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकको अबको प्राथमिकता स्थानीय सरकारको सवलीकरण गर्दै जनतामा सुशासन र विकासको अनुभूति गराउनु रहेको बताएका हुन् ।

संविधानको साझा अधिकारको रुपमा रहेको केही द्विविधाहरू, अस्पष्टताहरूलाई थप स्पष्ट पार्दै संघीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ छ ।

उनले वैशाखमा स्थानीय तहको निर्वाचन स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको र नयाँ जनप्रतिनिधिहरुले कार्यभार सम्हाल्न थालेकाले मुलुकमा उत्तरदायी लोकतन्त्रको अभ्यासलाई थप सबलीकरण गरेको बताए ।

संघीय सरकारले तदारुकता देखाई संघ, प्रदेश र स्थानीय तहलाई क्रमश: कानुन बनाउन तथा संघीयतालाई सहजीकरण गर्नुपर्ने खाँचो रहेको बताउँदै प्रधानमन्त्री देउवाले पुराना कानुनहरूलाई संविधानअनुकूल बनाउन तथा निजी सेवा, शिक्षा, स्वास्थ्यलगायतका विषयहरूको कानुन तत्काल बनाउने प्रयासलाई प्राथमिकता दिनुपर्ने स्थिति रहेको बताए ।

प्रधानमन्त्री देउवाले मुलुकमा विद्यमान गरिबी, बेरोजगारी, सामाजिक अन्धविश्वास तथा कूरीतिहरूको अन्त्यका लागि आर्थिक विकासका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सक्नेगरी स्थानीय तहको क्षमता अभिवृद्धि गर्न सबै पक्ष लाग्नुपर्ने धारणा व्यक्त गरे ।

आइतबारदेखि सुरु भएको गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो महाधिवेशनमा देशभरका ४६० गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको सहभागितामा रहेको छ ।

मंसिर २७ गते सम्म चल्ने महाधिवेनले आगामी पाँच वर्षको लागि महासंघको नयाँ नेतृत्वको चयन गर्नुकासाथै काठमाडौं घोषणापत्र जारी गर्ने महासंघले जनाएको छ ।