
काठमाडौं, १६ मंसिर । नेकपा एमालेका उपमहासचिव एवम् प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले दक्षिणपन्थी गठबन्धनलाई तोडेर वामपन्थी शक्तिलाई एकजुट बनाउनुपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको बधाई कार्यक्रममा सहभागी हुँदै उनले मुलुकका लागि निकै महङ्गो सावित भएको सत्तारुढ दक्षिणपन्थी गठबन्धनलाई तोडेर वामपन्थी शक्तिलाई एकजुट बनाउनुपर्ने बताएका हुन् ।
वामपन्थी शक्तिलाई एकजुट बनाएर एमालेको नेतृत्वमा भावी सरकार निर्माण भए ले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउँदा मुलुकमा प्राप्त उपलब्धिलाई रक्षा हुनाका साथै मुलुकको स्वाधीनतामाथि धावा बोल्ने कामको अन्त्य हुने विश्वास व्यक्त गरे ।
‘मुलुकमा प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि, मुलुकको स्वाधिनतामाथि धावा बोल्ने कामलाई रोक्नका लागि एमाले नेतृत्वमा सरकार बन्नुपर्छ, यो दक्षिणपन्थी गठबन्धनले मुलुकलाई बर्वादीतिर लैजान्छ, एमालेले यस्तो काम हुन दिनुहुन्न,’ उपमहासचिव गुरुङले भने । गठबन्धन दलहरूले समयमै सरकार गठन गर्न नसके एमालेले आफ्नै नेतृत्वमा सरकार बनाउने पहल कदमी लिने उनको भनाइ छ ।

मंसिर ४ गते सम्पन्न आम निर्वाचनले संघ र सात वटै प्रदेशमा सरकार बनाउने हैसियत एमालेलाई प्राप्त भएको उपमहासचिव गुरुङले बताएका छन् । ‘संघ र सात वटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने आफ्नो हैसियत कायम राखेको छ,’ उनले भने, ‘लिडरशीपको कुरा गर्ने हो भने एमालेको लिडरशीप सबैभन्दा उत्कृष्ट हुनुहुन्छ, केपी ओलीको जस्तो भिजन र काम गर्ने जाँगर अनि इमान्दारिता अरुसँग छैन, यस्तो बेला देउवाकै नेतृत्वमा सरकार भन्ने भयो भनेर जसरी कुप्रचार भइराखेको छ, त्यसलाई तोडनु पर्छ, मुलुक बर्वाद पार्ने दिशामा जान दिनहुन्न भन्ने सच्चाइलाई सबैले आत्मसाथ गर्न जरुरी छ ।’
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका गुरुङले चुनावमा आफूहरुले अपेक्षा गरेअनुसार परिणाम नआए पनि एमाले पराजित भने नभएको बताए । ‘एमालेले हारेको छैन, हामीले १५० सीट जित्छौँ भनेका थियौं । प्रत्यक्षमा ७१ देखि १०० सीटको हाराहारीमा ल्याउन सकिन्छ भन्ने हाम्रो अपेक्षा थियो तर परिणाम तलमाथि भयो, यत्रो घेरावन्दीका बीच पनि यो परिणाम आउँदा एमालेलाई हारेको भन्न मिल्दैन,’ उनले भने ।















प्रतिक्रिया