मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

दोलखामा गठबन्धनले मतगणना गर्न नदिने

दैनिक नेपाल २०७९ मंसिर १५ गते १७:३६

दोलखा, १५ मंसिर । पुन: मतदान नियोजित भएको भन्दै दोलखामा गठबन्धन दलहरूले  मतगणना गर्न नदिने भएका छन् ।

गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका माओवादी नेता गंगा कार्कीले पुन: मतदान भए पनि मतगणना गर्न नदिइने बताएका हुन् । दोलखामा गठबन्धन र सम्बद्ध उम्मेदवारको अनुहारमा कालो पोतेर गरिएको पुन: मतदान षडयन्त्रपूर्ण रहेको भन्दै उनले मतगणनालगायत कार्यमा गठबन्धन र आफूहरू सहभागी नहुने जिकिर गरेका छन् ।

‘जिल्ला निर्वाचन कार्यालयका प्रमुखले गडबडी गरेका कारण दोलखामा पुन: निर्वाचन भएको हाम्रो दाबी छ । यसले हामी दोलखावासीको मुहारमा नराम्रोसँग कालो पातेको छ, यो गलत छ,’ उम्मेदवार कार्कीले भने, ‘उहाँ (जिल्ला निर्वाचन अधिकृत) को नेतृत्वमा मतगणनालगायत काम गर्न हामी चाहदैनौँ । हामी अस्तीको बैठकमा पनि बसेका छैनौँ ।’

अर्को मतदान अधिकृत आएपछि मात्रै मतगणनालगायत कार्य अगाडि बढ्ने कार्कीको भनाइ छ । केही मतदान केन्द्रहरूमा गडबढी भएको स्वीकार गर्दै उनले त्यसको समाधान पुन: निर्वाचन नभइ दलहरूबीचको सम्वाद हुनुुपर्नेमा जोड दिएका छन् ।

निर्वाचन आयोगले मंसिर ४ गते भएको निर्वाचनमा जिल्लाको वैत्यश्वर र तामाकोशी गाउँपालिकाका १० वटा मतदान केन्द्रमा गठबन्धनले बुथ कब्जा गरी सर्वसाधारण नागरिकको मताधिकार हनन् गरेको ठहर गर्दै आज पुन: मतदान गराएको छ ।

शान्तिपूर्ण रूपमा आजको मतदान कार्य सम्पन्न भए पनि थप कार्य अगाडि बढाउन नदिने रणनीतिमा गठबन्धन देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित