शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

राष्ट्रपति, प्रधानमन्त्री र सभामुख कुन–कुन दलले लिँदैछन् ? मेटमणि चौधरीले गरे खुलासा

दैनिक नेपाल २०७९ मंसिर १५ गते १७:०३

काठमाडौं, १५ मंसिर । शहरी विकासमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले सत्ता गठबन्धनकै सरकार बन्ने र उक्त सरकारको नेतृत्व शेरबहादुर देउवाले गर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रमा उनले सरकार निर्माण गर्ने विषयमा दलहरुबीच छलफल सुरू भइसकेको जवानकारी दिँदै पाँच दलीय गठबन्धनको सरकारका मन्त्रीहरु पनि सल्लाहमै टुङ्गो लगाइने बताएका हुन् ।

माओवादीले राष्ट्रपति, कांग्रेसले प्रधानमन्त्री र नेकपा एसले सभामुख पद लिएर आगामी सत्ता समीकरण निर्माण हुने दाबी उनले गरेका छन् । ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख सबै पद प्याकेजमै सहमति हुन्छ’ उनले भने, ‘कांग्रेस ठूलो दल हो उसको फर्ष्ट च्वाइस हो, प्रधानमन्त्रीमा दाबी गर्ला । गठबन्धनभित्र कांग्रेसपछि माओवादी दोस्रो ठूलो दल हो, उसले राष्ट्रपति च्वाइस गर्ला । एकीकृत समाजवादीले सभामुखमा दाबी गर्न सक्छ ।’ यही समीकरणबाट छलफल अघि बढिरहेको चौधरीको दाबी छ ।

उनले आगामी फागुनसम्म नयाँ सरकार गठन गरिसक्ने बताएका छन् ।

मन्त्री चौधरीले अहिले एमालेसहितको वामपन्थीहरुको नेतृत्वमा सरकार बन्ने कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् । त्यस्तै, उनले अहिलको निर्वाचनमा आफ्नो पार्टीको सन्तोषजनक परिणाम नआएको पनि बताएका छन् ।

अर्को प्रसङ्गमा मन्त्री चौधरीले आगामी ३५ दिनभित्र काठमाडौंको सुकुम्बासी समस्या हल गरिने दाबी गरेका छन् । थापाथलीको सवालमा सुकुम्बासी वस्ती भनिएको ठाउँमा ठूला भवन बनाइएका र स्टल बनाएर भाडा असुल्ने काम भएको उनको भनाइ छ ।

मन्त्री चौधरीले सबै सुकुम्बासीको पहिचान गर्ने र उनीहरुको घर नबन्दासम्म उनीहरुको लागि उचित बसोबासको व्यवस्थापन गर्ने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित