शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

दोलखामा बुथ कब्जा गर्ने गलत प्रवृत्ति अन्त्य गर्न सफल भयौँ : उम्मेदवार शिबाकोटी

दैनिक नेपाल २०७९ मंसिर १५ गते १५:०१

दोलखा, १५ मंसिर । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बालकृष्ण शिबाकोटीले दोलखामा बुथ कब्जा गर्ने गलत प्रवृत्तिको श्रृङ्खला अन्त्य गर्न आफूहरू सफल भएकोमा खुसी व्यक्त गरेका छन् ।

आज वैत्यश्वर र तामाकोशीका विभिन्न मतदान केन्द्रको अवलोकन गर्दै उम्मेदवार शिबाकोटीले पुन: निर्वाचनमार्फत बुथ कब्जा गर्ने गलत प्रवृत्तिको अन्त्य गरिएको बताएका हुन् ।

‘हामीले दोलखाका ८/१० ठाउँमा बुथ कब्जा भएको उजुरी दिएका थियौँ, तर त्यसमध्ये चार ठाउँमा पुन: निर्वाचन हुँदा आंशिक भए पनि बुथ कब्जा गर्ने गलत प्रवृत्तिलाई अन्त्य गर्न सफल भएका हौँ,’ उनले भने, ‘यो दोलखाली जनताका लागि खुसीको कुरा हो ।’

मतदान केन्द्रको अवलोकनका क्रममा उम्मेदवार शिबाकोटीलाई पुन: मतदानको वातावरण बनाएर आफूहरूलाई मताधिकार दिलाएकोमा मतदाताहरूले धन्यवाद समेत दिएका छन् । शिबाकोटीले आफू र आफ्नो पार्टी नेकपा एमालेको पहलकदमी र जोखिमपूर्ण संघर्षबाट वैत्यश्वर र तामाकोशी गाउँपालिकाका अधिकांश मतदाताले आफ्नो मत आफैं व्यक्त गर्ने अवसर प्राप्त गरेको बताएका छन् ।

हर्षोल्लासका साथ दोलखामा पुन: मतदान हुनु खुसीको कुरा भएको बताउँदै शिबाकोटीले जनताले सहज ढङ्गले मतदान गर्न नपाएकै कारण आफूले संघर्ष गरेको स्पष्ट पारे । ‘यो दोलखाली जनताले मताधिकार पाएको ऐतिहासिक क्षण हो, यसमा म धेरै खुसी छु र यहाँका मतदाताहरू पनि खुसी हुनुभएको छ,’ शिबाकोटीले भने ।

‘मंसिर ४ गते भएको निर्वाचनमा यहाँ कसैलाई मत हाल्ने अवस्था थिएन । तर, अहिले सबैले निर्धक्कका साथ मतदान गरिरहनृु भएको छ, यो खालको वातावरण सृजना हुनु सबैका लागि खुसीको कुरा हो,’ उनले भने । निर्वाचनको प्रतिस्पर्धामा उत्रिएपछि हार–जित हुनु स्वाभाविक रहेको बताउँदै उनले जनताको मताधिकार फिर्ता ल्याउने कामको अगुवाइ गर्न पाएको खुसी लागेको बताएका छन् ।

लोकतन्त्रको सुन्दर पक्ष नै स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताउँदै उम्मेदवार शिवाकोटीले जनताले आफ्नो निर्णय आफै गर्न पाउनुपर्नेमा जोड दिए । लोकतन्त्रमा जित–हार स्वाभाविक प्रक्रिया भएको तर, जनताको मत लुटेर जसरी पनि निर्वाचन जित्न खोज्नु अलोकतान्त्रिक कार्य भएको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित