शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

बुथ कब्जा गरी मताधिकार हनन् गर्ने गठबन्धनलाई भोट दिदैनौँं : मतदाता

दैनिक नेपाल २०७९ मंसिर १४ गते २०:२३

दोलखा, १४ मंसिर । दोलखाको बैत्यश्वर र तामाकोशी गाउँपालिकाको चार मतदान केन्द्रका १० वटा बुथमा भोलि बिहीबार पुन: मतदान हुँदैछ ।

मंसिर ४ गते गठबन्धनका केही अराजक कार्यकर्ताले गुण्डागर्दी शैलीमा बुथ कब्जा गरी एक्लौटी ढङ्गले मत खसालेको ठहर गर्दै निर्वाचन आयोगले भोलि बिहीबार पुन: मतदान गराउन लागेको हो ।

लामो सयमदेखि आफ्नो मताधिकारबाट बञ्चित हुँदै आएका स्थानीयबासीले मतदाता नामावलीमा नाम भएर पनि मत खसाल्न पाएका थिएनन् अर्थात् प्राय: हरेक निर्वाचनमा उनीहरूको मताधिकार हनन् गरेको थियो । तर, यो पटकबाट भने इतिहास नदोहिरिने गरी उनीहरूले पुन: मतदान गर्न पाउने भएका छन् ।

विशेषगरी नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीको पहलमा पुन: मतदान गर्न पाएका स्थानीयबासीहरूले आफूहरूको अधिकार खोस्ने र बुथ कब्जा गर्नेलाई मत नदिने बताउन थालेका छन् ।

उनीहरूले निर्वाचनमा कतिपय अवस्थामा आफ्नो आस्थाको आधारमा मतदान गर्ने भए पनि पुन: मतदानमा भने नेकपा एमालेका उम्मेदवारहरूलाई मत दिने बताएका छन् । ‘हामी जुनसुकै पार्टीमा आस्था राखौँला, हामी एमालेका कार्यकर्ता पनि होइनौँ तर यो पटक बुथ कब्जा गर्नेलाई सबक सिकाउनका लागि भए पनि एमालेलाई मत दिन्छौ,’ तामाकोशीका मतदाताले भने ।

पुन: मतदान गर्ने निर्वाचन आयोगको निर्णयपछि उत्साहित र खुसी बनेका स्थानीयले आफैले दशकौँदेखि मतदान गर्न नपाएको गुनासो गरे । देशमा कानुनी शासन छ कि छैन भन्ने आभाष अहिलेसम्म नपाएका कतिपय स्थानीयले भने पहिलो पटक मतदान गर्दैछन् । किनकी मतदाता नामावलीमा नाम भएको दशकौँ भए पनि विडम्वना नै भन्नुपर्छ उनीहरूले आफ्नो मत आफैले हाल्न पाएका थिएनन् ।

पछिल्लो समय सामाजिक सञ्जालदेखि मिडिया सम्म बुथ कब्जाका घटना, भिडियो, तस्वीरहरू छरपष्ट भएपछि राज्यले बुथ कब्जाको विषयलाई चासोका साथ हेरेको र आफूहरूले न्याय पाएको उनीहरूको भनाइ छ ।

उनीहरूले जनतालाई डरत्रासमा राख्ने र जनताको मत लुट्नेलाई सार्वजनिक रूपमा बहिष्कार गर्नुपर्नेमा जोड दिदै आफूहरू अब कसैको डर, धाक धम्कीको आधारमा मत नदिने र यो पटक बुथ कब्जा भएको ठाउँमा पुन: मतदान गराएर न्याय दिलाउने अठोट व्यक्त गरेका छन् । पुन: मतदानमा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटी र नरबहादुर श्रेष्ठलाई मतदान गर्ने उनीहरूको तयारी छ ।

स्थानीयबासीले प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार शिवाकोटीले बुथ कब्जामा अरुको सिको नगरेको र इमानको राजनीति गरेकोमा प्रशंसा समेत गरेका छन् । उनीहरूले शिवाकोटीको इमानदारितालाई कदर गर्दै भोट दिने कुरामा विश्वास समेत दिलाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित