
काठमाडौं, १३ मंसिर । आम निर्वाचन २०७९ को सम्पूर्ण मत परिणाम आउने क्रम अन्तिम चरणमा पुगेपछि दलहरू एक–आपसमा आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।
त्यतिमात्र होइन कतै पुन: मतदान त कतै पुन: मतगणना गर्नुपर्ने मागसहित दलहरू निर्वाचन आयोगको ढोकामा पुग्न थालेका छन् ।
दोलखा, स्याङ्जा र बाजुरालगायत जिल्लाका विभिन्न मतदान केन्द्रमा पुन: मतदान गर्न माग गर्दै हिजो सोमबार नेकपा एमाले निर्वाचन आयोग पुग्यो भने स्याङ्जाको मतगणना कार्य अगाडि बढाउन माग गर्दै आज मंगलबार नेपाली कांग्रेस निर्वाचन आयोग पुगेको छ ।
साथै, आगामी सत्ता समस्करणबारे पनि दलका शीर्ष नेताहरू बारम्बार छलफलमा जुटिरहेका छन् ।
यस्ता छन् आज दिनभरका टप फिप्टिन हेडलाइन–
१. ओलीको आक्रोश : गठबन्धन दलले सत्ताको दुरुपोग गर्दै निर्वाचन जित्न खोजेको एमाले अध्यक्ष ओलीको आरोप, काठमाडौं महानगरको कार्यशैलीप्रति असन्तुष्ट ।
२. एमालेको अग्रता : प्रदेश सभाको समानुपातिकतर्फ ६ वटा प्रदेशमा नेकपा (एमाले) अगाडि, मधेशमा कांग्रेस पहिलो ।
३. रघुवीर महासेठ विजयी : धनुषा निर्वाचन क्षेत्र नं ४ मा नेकपा एमालेका सचिव रघुवीर महासेठले रोमाञ्चक जित निकाले, तेस्रो पटक संसद प्रवेशको बाटो खुल्यो ।
४. विजय गच्छदारले हारे भगवतीसँग : सुनसरी क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी भगवती चौधरी प्रतिनिधि सभा सदस्य निर्वाचित, विजय कुमार गच्छदारको सातौं संसदीय यात्रामा लाग्यो ब्रेक ।
५. पत्र बोकेर कांग्रेस आयोगमा : स्याङ्जा–२ को मतगणना सुरु गर्न माग गर्दै कांग्रेसले आयोगमा बुझायो ध्यानाकर्षण पत्र, कांग्रेसले धाँधली गरेको अन्य दलको आरोप ।
६. माधव नेपालको भनाइ : देश दक्षिणपन्थी बाटोमा जान सक्ने खतरा रहेको माधव नेपालको भनाई, अझै गठबन्धन दलहरुबीच सहकार्य हुनुपर्नेमा जोड ।
७. पुन: मतदान : पुन: निर्वाचनमा मतदातालाई डरत्रास देखाए तत्काल पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन, दोलखामा तीन गुणा बढी सुरक्षाकर्मी परिचालन गरेर पुन: निर्वाचन गराइँदै ।
८. महानगरको प्रशंसनीय काम : काठमाडौं महानगर क्षेत्रभित्रका सुकुम्बासीलाई उचित स्थानान्तरणको काम अगाडि बढाएको महानगरको भनाई, सुकुम्बासीले घेरे महानगर ।
९. सतर्क रहौँ स् मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी, नदीमा पानीको बहाव घटबढ हुनसक्ने आयोजनाको भनाई ।
१०. न्याय खोई ? : न्यायको माग गर्दै सिरहाकी बिनु यादवले सर्वोच्चको गेटमा छ्यापिन् रातो रङ, प्रहरीले गर्यो गिरफ्तार ।
११. चोरको बिगबिगी : काठमाडौंमा दिउँसै कोठा फोडेर चोरी गर्ने गिरोह सक्रिय, चोरीमा संलग्न गिरोहको खोजी कार्य भइरहेको प्रहरीको भनाइ ।
१२. नेप्से बढ्यो : धितोपत्र बजारमा मंगलबार नेप्से परिसूचक झिनो अङ्कले उकालो लाग्यो, एक हजार ९ सय ५३ दशमलव ३५ विन्दुमा उक्लियो ।
१३. पाव्लोस्कीले खोलिन् मुख : विश्वभर चर्को आलोचना खेपिरहेकी कितिया पाव्लोस्कीले सामाजिक सञ्जालमार्फत मुख खोलिन्, हिउँ चितुवाको तस्वीर सम्पादित नभएको दाबी ।
१४. दुई राष्ट्रपतिबीच भेटवार्ता : अमेरिकी र फ्रान्सेली राष्ट्रपतिबीच युक्रेन युद्धबारे वार्ता हुँदै, बाइडेनले कार्यभार सम्हालेपछि पहिलो पटक म्याक्रोन अमेरिकाको राजकीय भ्रमणमा जाँदै ।
१५. हार्यो कर्णाली : यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमतीले हरायो कर्णलीलाई, कर्णाली ७ विकेटले पराजित ।















प्रतिक्रिया