शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

काठमाडौं महानगरको कदमप्रति संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको आपत्ति

डोजर आतंक नरोकिए सडक आन्दोलन गर्ने चेतावनी

दैनिक नेपाल २०७९ मंसिर १३ गते २०:३०

काठमाडौं, १३ मंसिर । काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथलीस्थित बाग्मती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोजेकामा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाले आपत्ति जनाएको छ ।

आज मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले अन्य कुनै स्थानमा बसोबासको व्यवस्था नगरी सुकुम्बासी बस्ती हटाउन डोजर चलाउन नहुने टिप्पणी गरेको हो ।

शहरको सुन्दरताको लागि बस्ती हटाउन खोजेपनि सामाजिक न्यायको सिद्धान्तलाई छायाँमा पार्न नहुने मोर्चाको भनाइ छ ।

पत्रकार सम्मेलनमा संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुईंटेलले २०४६ सालको आन्दोलनपछि सुकुम्बासी आयोग बने पनि सुकुम्बासीहरुलाई राज्यले व्यवस्थापन गर्न नसकेको टिप्पणी गरे । लुईंटेलले बागमती सभ्यताको लागि काठमाडौंलाई नमूना शहर बनाउने बालेन शाहले उद्घोष गरे पनि सुकुम्बासीलाई बिचल्ली बनाउन खोजेको भन्दै कडा आपत्ति जनाए ।

थापाथली बस्ती उत्पीडित सुकुम्बासी समितिका अध्यक्ष मिन कुमार राना मगरले सुकुम्बासी बस्ती भत्काउने महानगरको कुनै प्रतिनिधि र पत्र नआएको र एक्कासी भत्काउन आएको गुनासो गरे । महानगरको टोली बलजवरजस्ती बस्ती छिर्न खोजेकाले झडप भएको उनको भनाइ छ ।

संयुक्त सुकुम्बासी मोर्चाका सदस्य तथा थापाथली बस्ती उत्पीडित सुकुम्बासी समितिका सदस्य विजय मगरले आफूहरु सो बस्तीमा २०६२ साल पुस २ गतेदेखि बस्दै आएको बताए । डोजर आतंक मच्चाएर त्यहाँका नागरिकको शिक्षा, स्वास्थ्य र बाँच्न पाउने अधिकारबाट बञ्चित गराउन खोजिएको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित