
दोलखा, १३ मंसिर । दोलखाको पुन: निर्वाचनमा मतदातालाई आंतकित बनाउने कार्य भएमा तत्काल प्रक्राउ गरी कारवाही गर्न गृह मन्त्रालयले निर्देशन दिइएको छ ।
निर्वाचन आयोगको अनुरोधमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय दोलखालाई निर्देशन दिर्दै निर्वाचनमा डर त्रास देखाउनेलाई तत्काल प्रक्राउ गरी कारवाही गर्न आदेश दिएको हो ।
पुन: मतदान गराउनु पर्ने दोलखाका मतदान केन्द्रहरुमा मतदानलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न/गराउन हाल कायम रहेको अति संवेदनशील मतदान स्थलमा आवश्यक सुरक्षा व्यवस्था गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालय दोलखालाई निर्देशन दिई सुरक्षा व्यवस्था सुनिश्चित गर्न भनिएको हो ।
निर्वाचन आयोगका अनुसार मतदान केन्द्रमा कुनै पनि व्यक्तिलाई मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने वा पुर्याउन लगाउने वा थुनछेक गर्ने वा गराउने धाक, धम्की वा डर त्राश देखाउने वा त्यस्तो कार्य गर्न दुरुत्साहन गर्ने दलका प्रतिनिधि, उम्मेदवार, मतदान प्रतिनिधि वा त्यस्तो कार्य गर्ने जुनसुकै व्यक्तिलाई तत्काल पक्राउ गरी निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही गर्न गृह मन्त्रालयमार्फत जिल्ला प्रहरी कार्यालय दोलखालाई निर्देशन दिइएको छ ।
तीन गुण बढी सुरक्षाकर्मी परिचालन गर्दैछौँ, ढुक्क भएर मतदान गर्नुहोस् : प्रजिअ खतिवडा
दोलखाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले पनि पुन: निर्वाचनमा यसअघि खटिएका सुरक्षाकर्मी भन्दा तीन गुण बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी सुरक्षा व्यवस्था कडा बनाइने बताएका छन् ।
दोलखामा मंसिर ४ गते बुथ कब्जा भएका वैत्येश्वर र तामाकोशीका चार मतदान केन्द्रका १० वटा बुथमा हुन गइरहेको निर्वाचनमा सुरक्षा ब्यवस्था कडा बनाइएको र निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गरिने गरी तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी खतिवडाको भनाइ छ ।
उनका अनुसार निर्वाचन हुने क्षेत्र पुरै सिल गरिनेछ । निर्वाचनलाई भयरहीत बातावरणमा सम्पन्न गर्न र डर क्रासरहित बनाउन आफ्नो तर्फबाट कुनै कशर बाँकि नराखिने भन्दै सबैलाई निर्धक्क साथ मतदानमा सहभागि हुन र त्यसको सुरक्षा ब्यवस्था दिने जिम्मेवारी आफूहरुको भएको बताए ।
त्यस्तै, खतिवडाले राजनीतिक दलहरुले इमानदारीता देखाएमा सुरक्षा व्यवस्थाको आवश्यक नपर्ने भन्दै सबै राजनीतिक दलहरुलाई समन्वय गर्न पनि आग्रह गरेका छन् ।
दोलखाको वैत्यश्वर गाउँपालिका ६ का वैत्यश्वर माध्यमिक विद्लाय मतदान केन्द्रको क, ख, ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, वैत्यश्वर वडा नम्बर ३ को कालीढुंगा मावि मतदान केन्द्रको क, ख, ग, तामाकोसी गाउँपालिका ३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख मा पर्सी बिहीबार पुन:मतदान हुन लागेको हो ।















प्रतिक्रिया