
काठमाडौं, १३ मंसिर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले देश दक्षिणपन्थी बाटोमा जान सक्ने देखिएकाले सतर्क रहनुपर्ने बताएका छन् ।
मंगलबार पार्टी कार्यालय तीनकुनेमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले निर्वाचनको परिणामपछि मुलुक देश दक्षिणपन्थी बाटोमा जान सक्ने देखिएकाले गम्भीर हुनुपर्ने र सतर्क रहनुपर्ने बताएका हुन् ।
अहिलेको अवस्थामा गठबन्धन दलहरुसँगको सहकार्यलाई अघि बढाएरै लानुपर्ने उनको भनाइ छ ।
त्यस्तै अध्यक्ष नेपालले निर्वाचनका क्रममा इलाममा विसङ्गतिहरु देखिएको र पुन मतदानको लागि कानुनी बाटोमा जाने विषयमा पार्टीभित्र छलफल भएको समेत जानकारी दिएका छन् ।
आज बसेको सचिवालय बैठकपछि उनले सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हामीले निर्वाचनको बारेमा समीक्षा गर्यौँ । खास गरी इलाम र उदयपुरको बारेमा छलफल गरेका छौँ । इलाममा अनेकौँ खालका विसङ्गतिहरू देखिएका छन् । हामीले इलामको बारेमा पुन मतदानको लागि कानुनी बाटोमा जानेबारेमा छलफल गरेका छौँ ।’
इलाम १ बाट नेकपा एसका सम्मानित नेता झलनाथ खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका थिए । उनले आफूलाई धाँधली गराएर हराएको भन्दै कानुनी उपचारको बाटोमा जाने बताउँदै आइरहेका छन् ।
निर्वाचनको समग्र परिणामलाई पनि पार्टीले गम्भीर रुपमा हेरिरहेको उनले बताए ।















प्रतिक्रिया