बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बालेनबारे एमाले अध्यक्ष ओलीको टिप्पणी : उन्मादले देश बन्दैन

दैनिक नेपाल २०७९ मंसिर १३ गते १५:५६

काठमाडौं, १३ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि प्रकारको उन्मादले देश नबन्ने बताएका छन् ।

काठमाडौं महानगरपालिकाको पछिल्लो गतिविधि र हिजो थापालीस्थित सुकुम्बासी बस्तीमा भएको घटनाबारे टिप्पणी गर्दै ओलीले भत्काएर वा तोडफोड गरेर देश नबन्ने बताएका हुन् ।

राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको बधाई तथा शुभकामना आदान प्रदान गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सुकुम्बासीहरूलाई राज्यशक्तिको प्रयोगबाट पराजित गरेर मुलुकको सुकुम्बासी समस्या समाधान नहुने स्पष्ट पारे ।

समस्याहरू थुप्रै रहेको तर बलबाट लोकतन्त्रमा समस्या समाधान नहुने चर्चा गर्दै उनले भने, ‘लोकतन्त्रमा समस्या समाधानको उपाय बल प्रयोग होइन, तरिका हुन्छ । उतिच समाधान दिन र कुनै पनि कुरालाई तर्कपूर्ण ढंगबाट समाधानमा पुर्‍याइनु वाञ्छनीय हुन्छ ।’ सुकुम्बासी र राज्यका बीचमा हारजितको अवस्था सृजना गरेर समाधान ननिस्कने ओलीको भनाइ छ ।

महानगरले भत्काइदिन्छौँ, तोडफोड गरिदिन्छौँ, हामी जितिहाल्छौँ र उडाइदिन्छौँ जस्ता भाव बोकेको गतिविधि गरेर जनता आतंकित पारेको टिप्पणी गर्दै ओलीले भने, ‘शब्दमा केही फरक होला तर, अर्थ र भाव भने त्यही नै छ । एउटा सुखसयलमा बसेको मान्छेले गरिबका भावना र पीडाहरूलाई बुझ्न नसकेर उन्माद देखाइरहेको छ, उन्माद छ । उन्मादले देशको समस्या समाधान हुँदैन ।’

प्रतिक्रिया
सम्बन्धित