शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

मुक्तिनाथ बैंकको सहकार्यमा कृषि कम्पनी गाउँमा, दग्दीमा मुक्तिनाथ कृषि सहकारी

प्रकाश डोटेल २०७९ मंसिर १२ गते २१:४२

स्याङ्जा, १२ मंसिर । स्याङ्जाको हरिनाश गाउँपालिका वडा नं. ६ क्याक्मीमा ‘दग्दी मुक्तिनाथ कृषि सहकारी संस्था’ स्थापना गरिएको छ ।

स्थानीय कृषकलाई कृषि उत्पादनमा केन्द्रित गर्न सहकारी स्थापना गरिएको हो ।

कृषि पेशामा आबद्ध कृषकको लागतमा कमि ल्याई कृषि उत्पादन बढाउनका लागि सहकारीले भूमिका निर्वाह गर्ने छ । लागतमा कमि ल्याई कृषिमा यान्त्रिकीकरण बढाउन सहकारी मार्फत लगानी बृद्धि गर्ने लक्ष्य राखिएको छ ।

स्थानीयस्तरमा उत्पादन हुने सुन्तला, गोलभेडा, अदुवा सहितका कृषिजन्य वस्तुको उत्पादनमा लगानी र निकासीको ग्यारेन्टी सहकारीले लिने व्यवस्था गरिएको छ । सहकारी मार्फत गरिने लगानीलाई सुरिक्षत बनाउँदै कृषकको आम्दानीमा बृद्धि गर्नु सहकारीको प्रमुख उद्देश्य रहेको छ ।

लगानीमा मुक्तिनाथ विकास बैंक र यान्त्रिकीकरणमा मुक्तिनाथ कृषि कम्पनीले सहजीकरण गर्ने छन् । सहकारी स्थापनाका अवसरमा हरिनाश गाउँपालिका आसपासका उल्लेख्य स्थानीय कृषकको सहभागिता रहेको थियो ।

सहकारी स्थापनाको प्रारम्भिक भेलामा हरिनाश गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले मुक्तिनाथ बैंक र कृषि कम्पनीसँग सहकार्य गरेर कृषकको जीवनस्तर उकास्न सकिने बताए । उनले कृषकको आम्दानी बढाउन र कृषि पेशालाई मर्यादित बनाउन गाउँपालिकाले बैंक र कम्पनीसँग हातेमालो गर्ने बताए ।

त्यस अवसरमा बैंक तथा कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले कृषिमा उत्पादन बढाउन बैंक र कम्पनीले कृषकसँग सहकार्य गर्दै अगाडी बढ्ने बताए । उनले कृषकको आम्दानी बृद्धि नहुँदासम्म आर्थिक विकास र कृषिमा यान्त्रिकीरकण नहुँदासम्म उत्पादनमा बृद्धि नहुने बताए । आर्थिक विकास र उत्पादन बढाउन बैंक र कम्पनीसँग सहकार्य गर्न कृषकलाई ढकालले आग्रह गरे ।

सहकारी भेलामा हरिनाश गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष डीलबहादुर राना, वडा नं. ६ का वडाध्यक्ष निर्मल लम्साल, मुक्तिनाथ बैंकका वरिष्ठ अधिकृत तेज गिरी, कृषि कम्पनीका गण्डकी प्रदेश प्रमुख भूमिराज भण्डारी, बैंकका उप–क्षेत्रिय कार्यालय स्याङ्जाका प्रमुख नविन काफ्ले, अनुगमन अधिकृत बालकृष्ण रेग्मी, मेघराज ढकाल र सन्तोष रोकाहाले बोलेका थिए ।

स्थानीय समाजसेवी खुमबहादुर रानाको अध्यक्षतामा दग्दी मुक्तिनाथ कृषि सहकारी संचालक समिति गठन गरिएको छ । गठित समितिको उपाध्यक्षमा गोपालसिहं प्रधान, सचिवमा टेकबहादुर सुनारी, सह–सचिवमा सरिता सुबेदी र कोषाध्यक्षमा चित्रमाया थापा रहेका छन् ।

समितिको सदस्य अमृता शाही, बबिता थापा, यामबहादुर थापा, खुममाया मानन्धर, शोभाकान्त लम्साल, शर्मिला वि.क., अस्मिता सार्की र ज्ञानकुमारी क्षेत्री रहेका छन् । समितिले संस्था दर्ताको प्रक्रिया पुरा गरेर तत्काल सहकारी संचालनमा ल्याउने छ ।

प्रतिक्रिया
सम्बन्धित