१ कार्तिक २०८३, आइतबार

दिनभरका TOP 15 NEWS

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० मंसिर । मंसिर ४ गते सम्पन्न आम निर्वाचन २०७९ को मतपरिणाम आउने क्रम चलिरहेको छ ।

आज शनिबार तिनै मतपरिणाम र चुनावसँग सम्बन्धित समाचारहरूले स्थान पायो । साथसाथै भावी सरकार गठन र दलहरूको शक्ति सन्तुलनका विषयमा पनि विभिन्न चर्चा परिचर्चा हुन थालेका छन् ।

के–के छन् त आज दिनभरका टप फिप्टिन समाचार ?

१. नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समयमा समानुपातिकमा केही पार्टीले अस्वभाविक मत पाइरहेको बताएका छन् । सामाजिक सञ्जालमा लेख्दै ओलीले ३ प्रतिशत मत नकट्ने पार्टीको मत गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने गलत कार्य भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

२. निर्वाचनपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पहिलो पटक भेटवार्ता भएको छ । शनिबार बिहान बालुवाटारमा दुई शिर्ष नेताबीच भेटवार्ता भएको हो ।

३. प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले सुरुवातबाटै सर्वाधिक मत पाएर शिर्ष स्थानमा रहेको छ । एमालेले हालसम्म २१ लाख मत कटाइसकेको छ । यस्तै, दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा नेकपा माओवादी केन्द्र रहेका छन् ।

४. रूपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री बालकृष्ण खाणले पराजित भएका छन् । उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहोराले पराजित गरेका हुन् ।

५. सुनसरी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका भीमप्रसाद आचार्य निर्वाचित भएका छन् । नेपाली कांग्रेसका सीताराम महतोलाई पछि पार्दै आचार्य प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

६. पार्टीले प्रदेशमा लज्जास्पद हार ब्यहोरेपछि माओवादी लुम्बिनी प्रदेशका अध्यक्ष सुदर्शन बरालले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभा निर्वाचनमा आफूसहित पार्टीका अधिकांश उम्मेदवार पराजित भएपछि नैतिकताका आधारमा राजीनामा दिएको उनले बताएका छन् ।

७. काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका सूर्यमान दोङ निर्वाचित भएका छन् । उनले नेकपा एमालेका रेशमबहादुर लामालाई पराजित गरेका हुन् ।

८. बारा क्षेत्र नम्बर ३ मा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यतर्फका दुवै सिट जितेर एमलेले क्लिन स्वीप गरेको हो ।

९. नेकपा एमालेका उपाध्यक्ष तथा रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित विष्णुप्रसाद पौडेलले आफूले मत माग्ने क्रममा जनतासँग गरेका वाचा पूरा गर्नेतर्फ लाग्ने बताएका छन् । रुपन्देहीका जनताले आफूलाई यसपटक पनि अनुमोदन गरेकाले जनताका विकासका आकाङ्क्षा पूरा गर्न लाग्ने बताएका हुन् ।

१०. बाजुराको बुढीनन्दा नगरपालिका ५ मा शनिबार मतदान भएको छ । मंसिर ४ गते मतदानका क्रममा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएपछि मतदान स्थगित भएको थियो ।

११. चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । उनले अतिरिक्त कार्यालय सामग्रीहरुको बाहेक ११ लाख ८१ हजार ४ सय ७२ रूपैयाँ खर्च भएको उल्लेख गरेका छन् ।

१२. मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएकी अभिनेत्री रेखा थापाले उम्मेदवार भएपछि जित्नुपर्छ भन्ने लाग्नु स्वभाविक रहेको बताएकी छिन् । राप्रपाबाट उम्मेदवार रहेकी थापाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै विजयी भएका कांग्रेसका सुनिल शर्मालाई बधाई र सम्पूर्ण मतदाताहरुलाई धन्यवाद पनि दिएकी छिन् ।

१३. अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको खुलाशा भएको छ । ‘अलपाइन इन्टरनेसनल म्यागाजिन’ले फोटोको ‘फ्याक्ट चेक‘ गर्दा हिउँ चितुवाको तस्वीर नक्कली भएको खुलाशा भएको हो ।

१४. भारतको बजापुरस्थित वन क्षेत्रमा शनिबार बिहान सुरक्षाकर्मीसँग भएको भिडन्तमा चार जना माओवादी मारिएका छन् । पोम्रा वन क्षेत्रमा करिब ४० जना माओवादी रहेका सूचना पाएपछि त्यहाँ पुगेको सुरक्षा फौजको कारबाहीमा दुई महिलासहित चार जना मारिएका हुन् ।

१५. कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत शनिबार दिउँसो भएको समूह डी को खेलमा अष्ट्रेलियाले पहिलो जित निकालेको छ । अष्ट्रेलियाले ट्युनिसियालाई १–० गोल अन्तरले पराजित गर्दै पहिलो जित निकालेको हो ।