बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

अहिलेको जनादेश मुलुकको भविष्यका लागि चुनौतीपूर्ण छ : महासचिव पोखरेल

दैनिक नेपाल २०७९ मंसिर ९ गते २१:५५

दाङ, ९ मंसिर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको जनादेशले मुलुक थप जोखिममा परेको बताएका छन् ।

गठबन्धनबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी केन्द्रीय सदस्य रेखा शर्मासँग १९७ मतले पराजय भोगेपछि घोराहीमा पत्रकार सम्मेलन गर्दै पोखरेलले कुनै पनि दलको स्पष्ट बहुमत नआएकाले समस्या निम्तिने बताएका हुन् । अहिले कुनै पनि पार्टीको स्पष्ट बहुमत आउन नसकेको र यसले देशलाई थप अस्थितर बनाउने उनको भनाइ छ ।

‘जनादेशको सम्मान त छ नै, तर जुन प्रस्थितिको जनादेश छ यसले मुलुकको लोकतान्त्रिक भविष्यका लागि अझ जोखिम र चुनौतीपूर्ण छ भन्ने कुरा स्पष्ट छ,’ महासचिव पोखरेलले भने ।

मुलुकलाई सहि दिशामा लग्नका लागि आफू थप कृयाशील भएर लाग्ने पोखरेलले बताए । ‘जे भयो अब समीक्षाको विषय मात्र रह्यो । मैले हारे पनि राजकीय जिम्मेवारीबाट टाढा रहने मात्र हो,’ उनले भने, ‘अब पार्टीलाई थप सुदृढ गर्ने र मुलुकलाई सहि दिशामा लैजानका लागि क्रियाशील हुने समय मलाई मिलेको छ ।’

पोखरेलले देशमा पार्टी ध्रुवीकरणको उद्देश्य अहिलेको जनादेशले पूरा हुन नसकेको भन्दै नयाँ राजनीतिक शक्ति स्थापनाले नयाँ राजनीतिक चुनौती उत्पन्न भएको बताए । उनले मुलुकको विकासका लागि धेरै राजनीतिक शक्ति नभएर बलियो राजनीतिक शक्ति आवश्यक हुने धारणा व्यक्त गरे । जसका लागि पार्टी बलियो हुनु पर्ने र एमालेलाई थप बलियो राजनीतिक शक्ति बनाउनुपर्नेमा उनले जोड दिएका छन् ।

फरक प्रसंगमा पोखरेलले आफूहरु सरकारमा भएको समयमा दाङलाई समृद्ध बनाउने गरी योजनाहरु पार्न सफल भएको भन्दै केही पूरा र केही अझै पूरा गर्न बाँकी रहेको बताए । बाँकी रहेका योजनाहरु निर्वाचित जनप्रतिनिधिले पूरा गरेमा आफूले हारेकोमा कुनै फरक नपर्ने उनको भनाई थियो ।

उनले दाङमा स्थायी राजधानी निर्माणलाई निर्वाचित जनप्रतिनिधिले प्राथमिक्तामा राख्नु पर्ने बताए । यस्तै, घोराही–तुलसीपुर सडक निर्माण, सुविधा सम्मपन्न एयरपोर्ट, औद्योगिक क्षेत्र निर्माण, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल शिक्षा पढाई र दाङमा त्रिभुवन विश्वविद्यालय अन्तरगतको इन्जिनीयरिङ कलेज स्थापना हुनु पर्ने भन्दै यी योजना पूरा भएमा आफूले नजिते पनि केहि फरक नपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित