
काठमाडौं, ९ मंसिर । विगत डेढ दशक देखि मुक्तिनाथ विकास बैंकले लघुवित्त कार्यक्रममार्फत शहर तथा ग्रामीण भेगमा रहेका कम आय भएका महिला तथा उद्यमी व्यक्तिहरूलाई प्राथमिकतामा राखि घरघरमा कर्जा बचतको कारोबार गर्दै उद्यमशीलता विकासमा योगदान दिँदै आएको छ ।
यसै सन्दर्भमा कफीको गेडा छान्ने, पिध्ने, प्याकिङ्ग गर्ने, कफिजन्य पदार्थ उत्पादन गर्ने, बेकरी उत्पादनको क्रियाकलाप गर्ने, आयात सम्बन्धी क्रियाकलाप गर्ने र दैनिक जिविकोपार्जनमा कठिन भएका व्यक्तिहरुलाई कफी व्यवसायसम्बन्धी तालिम दिई व्यवसायी बनाउँदै आएको कफी सोलुसन प्रालि र मुक्तिनाथ विकास बैंकबीच एक कार्यक्रम माझ कफी व्यवसाय सञ्चालन गर्न चाहने व्यक्तिहरुलाई व्यावसायिक कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
कफी सोलुसनले कफीसम्बन्धी ब्यवसाय सञ्चालन गर्न ईच्छुक व्यक्तिहरुलाई छनौट गरी आवश्यक तालिमहरु दिई सक्षम बनाई सशुल्क कफी मेसिन उपलब्ध गराउने छ भने कफी मेसिनको लागतको ५० प्रतिशत सम्मको लागत बराबरको रकम व्यवसायीलाई विनाधितो ऋण स्वरुप मुक्तिनाथ विकास बैंकले उपलब्ध गराउने बताएको छ । ऋण लिएर ब्यवसाय सुरु गरी त्यही व्यवसायबाट आर्जन गरेको रकमले व्यवसायीले बैंकलाई मासिक रुपमा किस्ता तिर्न मिल्ने व्यवस्था गरेको छ ।
यो कार्यबाट साना वर्गका ब्यवसायीहरुको दैनिक जिविकोपार्जन हुनाका साथै स्वरोजगार श्रृजनामा सहयोग पुग्ने र भविष्यमा ठूला व्यवसायीको रुपमा रुपान्तरित भई उद्यमशीलता विकासका साथै अर्थतन्त्रमा नै सकारात्मक प्रभाव पार्न सक्ने अपेक्षा बैंकको छ ।















प्रतिक्रिया