
काठमाडौं, ९ मंसिर । राष्ट्रिय मानवअधिकार आयोगले बाजुरा जिल्लामा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको निर्वाचनको क्रममा दुई व्यक्तिको मृत्यु भएको घटनामा अनुसन्धान सुरू गरेको छ।
मङ्सिर ४ गते दुई जनाको ज्यान जाने गरी भएको घटनाको अनुसन्धान सुरु गरिएको र अनुसन्धानका लागि सहयोग गर्न आयोगले आग्रह गरेको छ । घटनाको बारेमा स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली त्यहाँ गएको छ ।
आयोगले अनुसन्धान गर्न गएको टोलीलाई आवश्यक सहयोग गर्न स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनितिक दलहरू, नागरिक समाज, मानव अधिकारकर्मी, पीडित तथा पीडित परिवार र सर्वसाधारण सबैलाई आयोगले अनुरोध गरेको हो ।
मतदानको दिन त्रिवेणी नगरपालिका–७ स्थित दम्था मतदानस्थलमा एक जना स्थानीयले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप भएपछि प्रहरीले फायरिङ गरेको थियो । त्यसक्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर सञ्जिव अएडीको मृत्यु भएको थियो ।
सोही घटनासँग सम्बन्धित रहेर त्यही दिन साँझ कांग्रेस कार्यकर्ताहरुले नेकपा एमालेका कार्यकर्ता चेतन अएडी घरमै कुटपिट गरी हत्या गरेका थिए । उक्त घटनापछि त्यहाँ पुन: मतदान रोखिएको थियो । अहिलेसम्म पनि पुनः मतदान भएको छैन ।















प्रतिक्रिया