मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

नेपाल लाइफ इन्स्योरेन्सको २२औं वार्षिक साधारण सभाबाट १५.७८ लाभांश पारित

दैनिक नेपाल २०७९ मंसिर ८ गते १९:५६

काठमाडौं, ८ मंसिर । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कम्पनी सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघइको अध्यक्षतामा आज वीरगञ्जस्थित होटेल भिष्वामा साधारण सभा सम्पन्न गरिएको हो । साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को वितरणयोग्य मुनाफाबाट सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पूँजीको १५.७८९५% दरले हुन आउने रू. १ अर्ब २९ करोड बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको छ ।

यस्तै सञ्चालक समितिका तर्फबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी सभाले पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ ।

त्यसै गरी आर्थिक वर्ष २०७८/७९ को लागि एसएआर एशोसिएट्सलाई लेखापरीक्षकको रूपमा पुनर्नियुक्ति गर्दै सञ्चालक समितिले गरेको स्वतन्त्र सञ्चालक पारुल ढकालको नियुक्तिलाई अनुमोदन गरेको छ ।

कम्पनीका अध्यक्ष संघईले आर्थिक वर्ष २०७७/७८ को वार्षिक वित्तीय विवरण तथा संचालक समितिको प्रतिवेदन प्रस्तुत गर्दै विगत २२ वर्षमा जीवन बीमा क्षेत्रमा कम्पनीको व्यावसायिक हिस्सा र गरिमालाई तमाम चुनौतिहरू बीच अझै नयाँ उचाइमा अगाडि बढाउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजना, विकेन्द्रीकरण, तालिम एवम् अनुसन्धान तथा नयाँ बजारीकरण रणनीति अवलम्बन गरिरहेको र कम्पनीको समग्र विकासका लागि प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले शेयरधनीहरूको सल्लाह सुझावका लागि धन्यवाद दिए । उनले आफू कम्पनीको व्यवसाय बृद्धिमा दत्तचित्तका साथ काम गरिरहेको र कम्पनीले नेपाल बीमा प्राधिकरणबाट जारी लगानी निर्देशिकाको परिधिभित्र रही दीगो एवम् भरपर्दो लगानीका क्षेत्रहरूमा लगानी विस्तार तथा विविधीकरण गर्दै जाने नीति लिएको जानकारी गराए ।

नेपाल लाइफले २०७९ असोज मसान्तसम्ममा लगानी रू. १४९.७६ अर्ब गरिसकेको र जीवन बीमाकोषमा रू. १ खर्ब ४२ अर्ब ९ करोड संचित भइसकेको जानकारी गराएको छ । साथै, कम्पनीमा २,१२,३६२ भन्दा बढी प्रशिक्षित अभिकर्ता रहेको र कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि देशभर स्थापित १९७ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित