शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

शेरबहादुर देउवा र प्रचण्डलाई टेलिफोन गरेर केपी ओलीले के भने ?

दैनिक नेपाल २०७९ मंसिर ८ गते १८:२७

काठमाडौं, ८ मंसिर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेका छन् ।

ओलीले निर्वाचनमा डडेलधुराबाट विजयी भएका प्रधानमन्त्री देउवा र गोरखा–२ बाट विजयी भएका पूर्व प्रधानमन्त्री दाहाललाई बधाई तथा शुभकामना प्रदान गर्न टेलिफोन गरेको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले जानकारी दिए । उनका अनुसार ओलीले देउवालाई हिजो बुधबार साँझ र दाहाललाई आज बिहीबार दिउँसो टेलिफोन गरेका हुन् ।

टेलिफोन संवादका क्रममा देउवासँग शुभकामना साटासाट मात्रै भए पनि प्रचण्डसँग केही राजनीतिक कुराकानी भएको बताइएको छ । कुराकानीका क्रममा ओलीले प्रचण्डलाई आगामी दिनमा मिलेर अगाडि बढ्नुपर्ने सुझाव दिएका छन् ।

प्रचण्डले यसबारे बसेर कुरा गर्नुपर्ने र त्यसका लागि कुनै समस्या नभएको प्रतिक्रिया दिएको बताइएको छ । यद्यपि आफूहरू गठबन्धनमा रहेको भन्दै प्रचण्डले नतिजा आइसकेपछि छलफल गर्नु उपयुक्त हुने धारणा ओलीसमक्ष राखेको स्रोतको भनाइ छ ।

नेकपा विभाजनपछि दुई अध्यक्षहरुबीच दोहोरो संवाद भएको थिएन । विभाजनपछि ओली र प्रचण्डबीच कुराकानी भएको यो सम्भवत: पहिलो पटक हो । यो संवादलाई नेपाली राजनीतिमा निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित