बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

दोलखामा पुन: मतदानको सम्भावना बढ्यो, बुथ कब्जाबारे अध्ययन गर्दै निर्वाचन आयोग

दैनिक नेपाल २०७९ मंसिर ७ गते २०:५१

दोलखा, ७ कात्तिक । सत्ताधारी गठबन्धन दलले विभिन्न स्थानमा बुथ कब्जा गरेपछि दोलखामा अहिलेसम्म मतगणना सुरू हुन सकेको छैन ।

चाँडो मतगणना सुरू गर्न गठबन्धन दलका नेता तथा कार्यकर्ताहरूले दबाब दिइरहेको भए पनि बुथ लुटिएको मतदान केन्द्रमा पुन: निर्वाचन गराउने मनस्थितिमा निर्वाचन आयोग पुगेको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालयले मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई तत्काल मत गणना प्रक्रिया अगाडि नबढाउन निर्देशन दिदै पुन: मतदान गराउने सङ्केत दिएको छ ।

सोही निर्देशनबमोजिम मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले हिजो मंगलबार एक सूचना जारी गर्दै आयोगको अर्को सूचना नआएसम्मका लागि मतगणना प्रक्रिया अगाडि नबढाइने स्पष्ट पारेका छन् ।

‘दोलखा जिल्लामा २०७९ साल मंसिर ४ गते भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतदानको सम्बन्धमा आयोगबाट निर्णय भइ नआएसम्मका लागि मत गणना प्रक्रिया अगाडि नबढाउनु भन्ने निर्देशन प्राप्त भएकाले सोहीबमोजिम अर्को सूचना जारी नभएसम्मका लागि मतगणनाको कार्य स्थगित भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना जारी गरिएको छ,’ जिल्ला निर्वाचन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।

मंसिर ४ गते भएको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार, नेता तथा कार्यकर्ताले दोलखाको विभिन्न स्थानमा जनताको मताधिकार हनन् गरी बुथ कब्जा गरेको आरोप एमालेले लगाएको छ । त्यसबारे आवश्यक अध्ययन गरी पुन: मतदानको माग गर्दै एमालेले निर्वाचन आयोगमा उजुरी दिएको छ । सोही उजुरीका आधारमा अहिलेसम्म दोलखाको मतगणना प्रक्रिया प्रारम्भ हुन सकेको छैन । घटनाबारे निर्वाचन आयोगले गहन र गम्भीर अनुसन्धान गरिरहेको बताएको छ ।

एमालेका अनुसार दोलखाको प्रदेश (क) अन्तर्गत बैत्येश्वर गाउँपालिका १, २ र ६ को मतदान केन्द्र, तामाकोशी गाउँपालिका–३ को मतदान केन्द्र, मेलुङ गाउँपालिका–४ को मतदान केन्द्र र गौरीशंकर गाउँपालिका–२ को मतदान केन्द्र तथा प्रदेश (ख) अन्तर्गत शैलुङ गाउँपालिका–२ मतदान केन्द्र र कालिञ्चोक गाउँपालिका–१ मतदान केन्द्रमा गठबन्धनले एकलौटी (बुथ कब्जा) गरेको छ । ती मतदान केन्द्रमा पुन: मतदान गर्नुपर्ने माग गर्दै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ । उजुरी उपर निर्वाचन आयोगको केन्द्रीय कार्यालयले अध्ययन रिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित