बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

‘गठबन्धनमा आस्था राख्ने एक सच्चा राष्ट्रसेवक जसले निर्वाचनको जिम्मेवारी बिर्सिएनन्’

दैनिक नेपाल २०७९ मंसिर ७ गते ८:४७

काठमाडौं, ७ मंसिर । मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देशभर लगभग पचास प्रतिशत मतदान भयो । तर, दोलखाको तामाकोशी गाउँपालिका वडा नं ३ जफेको जामुने हेल्थपोष्ट केन्द्रमा ९७ प्रतिशत मत खस्यो । यो केन्द्रमा जम्मा मतदाता १४४३ मध्ये १४०६ को मत खसेको देखियो ।

बिहानको करिब १० बजेसम्म शान्तिपूर्ण रुपमा मतदान भएको यस केन्द्रमा गठबन्धनका प्रदेश उम्मेदवार कुन्दन काफ्लेको टोली आएर अन्य विपक्षीलाई धम्याएर बाहिर निकाले । त्यसपछि सुरु भयो लोकतन्त्रको चुनावी नाङ्गो नाच ।

सुरक्षाकर्मीहरुले उम्मेदवारलाई सघाएपछि कर्मचारीहरु अलमल परे । गठबन्धनका केही कार्यकर्ता पसेर कर्मचारीहरुलाई धम्क्याउन थाले । ज्यान मार्ने डर देखाउन थाले र मतदान अधिकृतलाई मतपत्रमा हस्ताक्षर गर्नलाई बाध्य बनाए ।

अधिकृतले हस्ताक्षर गर्न नभ्याएपछि गठबन्धनका कार्यकर्ताले उस्तै उस्तै हस्ताक्षर बनाएर आफैँले सही गर्दै मतपत्र च्यातेर बाकसमा हाल्न लागे । कर्मचारीहरुलाई तथानाम गाली गर्दै पानीसमेत पिउन नदिइ बाकसमा मतपत्र हालिरहे । लोकतन्त्रको धज्जी उडेको हेर्दै सबै कर्मचारीहरु ज्यानको डरले काम्दै सहायता दिइरहे । करिब ३ घण्टा यो श्रृङ्खला चलिरह्यो त्यसपछि सबै मतपत्र सकेर टोली हिँड्यो ।

डराउँदै काम्दै कर्मचारीहरु आफ्नो काममा लागे । सिलबन्दी, मुचुल्का र प्रतिवेदन जस्ता प्रक्रिया पूरा गरेर कर्मचारी बस्न बाध्य भए । यो केन्द्रका मतदान अधिकृत शेषनाथ आचार्य थिए । उनी पेशाले शिक्षक हुन् र आस्थाले माओवादी (गठबन्धन) प्रति झुकाव राख्छन् ।

यो दिनभरको क्रियाकलाप देखेर आतंकित र विक्षिप्त भएका उनले लोकतन्त्र सम्झन्छन् । देश र जनता अनि यो प्रणाली सम्झन्छन् । बुथ क्याप्चर गरेर मतदाता भगाएको सम्झन्छन् । राज्यको नून र आफ्नो जिम्मेवारी सम्झन्छन् र वास्तविक प्रतिवेदन तयार गर्छन् ।

दिनभर भएको लुट सम्झेर प्रतिवेदनमा बुथ कब्जा भएको लेख्छन् र निर्वाचन कार्यालयलाई बुझाउँछन् । उनले यो कुरा बाहिर कसैलाई भनेका छैनन् तर जिल्ला निर्वाचन कार्यालयले गठबन्धनका उम्मेदवार र कार्यकर्तालाई यो कुराको संकेत गरेपछि आजबाट आचार्यको घर घेरिएको छ । उनी गोरखा जिल्लाबाट दोलखामा शिक्षण गर्न आएका राष्ट्रसेवक हुन् । उनलाई प्रतिवेदन सच्याउन लोभ, लालच र धम्कीसमेत दिइएको कुरा बाहिर आएको छ तर उनले आफ्नो अडान कायमै राखेका छन् ।

उनको यो कामले दोलखाली जनताले उनलाई वाहवाही गरेका छन् । सच्चा र देशभक्त राष्ट्रसेवक कर्मचारी भनेर प्रशंसा गरिरहेका छन् । यो निर्वाचनमा दोलखामा बैत्यश्वर गाउँपालिका १,२,३ र ६ कालिन्चोक गाउँपालिकाको १ र शैलुङ गाउँपालिकाको भूषाफेदामा गठबन्धन समर्थित मतदान अधिकृत र सहायक मतदान अधिकृतले खुलेआम बुथ कब्जा गराएको भिडियो र तस्वीहरु संकलन गरेर प्रतिपक्षी एमालेले निर्वाचन कार्यालयमा पुनर्मतदानका लागि उजुरी दिएको छ । जसका कारण मतगणना सुरु भएको छैन् । साथै एमालेले ती कर्मचारीको कर्तुत संकलन गरी सार्वजनिक गर्ने पनि जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित