१ कार्तिक २०८३, आइतबार

पुन: पराजित मिश्र भन्छन्– चुनाव जित्ने देश हार्ने राजनीति गर्दिन, प्रकाशमानलाई शुभकामना

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले चुनाव जित्ने तर देश हार्ने राजनीतिक आफूले नगर्ने बताएका छन् ।

साँच दलीय गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग झिनो मतअन्तरले पराजित भएका उनले मतदाताहरूप्रति आभार प्रकट गर्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

१२५ मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दु:खी भए पनि समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएर लाग्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । ‘गत पाँच वर्षको मेरो उतार–चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबीच पनि जुन मत पाएँ, त्यसलाई म टुट्न दिने छैन,’ उनले भने, ‘झुठ बोलेर मत माग्दिन र चुनाव जित्ने देश हार्ने राजनीति गर्दिन ।’

झुठ बोलेर मत नमाग्ने र चुनाव जित्ने देश हार्ने राजनीति नगर्ने आफ्नो दृढताको जगमा प्राप्त विश्वासका लागि उनले मतदाता तथा सबै शुभेच्छुकहरू गहिरो आभार प्रकट गरेका हुन् । ‘म त्यो शब्दमा व्यक्त गर्न सक्दिन ! यस पटक काठमाडौँ क्षेत्र नं १ मा ‘चुनावी संग्राम’ मात्र भएको थिएन, त्यो ‘चुनावी महासंग्राम’ थियो,’ उनले भनेका छन् ।

‘धेरै साथीहरूले निर्वाचन परिणामबारे चिन्ता गर्दै म प्रति गहिरो सहानुभूति व्यक्त गरिरहनुभएको छ । अलि आध्यात्मिक प्रकृतिको व्यक्ति हुनाले म ‘कर्म गर फलको ‘भर’ नपर’ भन्ने मान्यता राख्दछु । कर्मको फल आफ्नो नियन्त्रणमा छैन भन्ने विश्वास गर्दछु । तसर्थ, म जीवनका प्रतिकूलताहरूलाई सहज रूपमा ग्रहण गर्न सक्छु,’ उनले भनेका छन् ।

२०७४ साल र यसपटकको निर्वाचन दुवैमा झिनो मतले पराजित भएका मिश्रले काठमाडौं क्षेत्र नं १ का मतदाताका लागि केही गर्न नसकेकोमा खिन्नता प्रकट गरेका छन् । ‘मेरो पृष्ठभूमि पत्रकारिता र परोपकारसँग जोडिएको छ । मैले पत्रकारितामा फर्किने या पत्रकारितामार्फत् आफ्नो निर्वाचन क्षेत्रलाई योगदान गर्ने सम्भावना म देख्दिन । तर व्यापक प्रतिकूलतामाझ पनि ममाथि विश्वास गर्ने काठमाडौँ क्षेत्र नं १ का मतदाताप्रति आभार प्रकट गर्न मैले मेरा पछिल्ला दुई पुस्तक (विचारभन्दा माथि देश र राजनीतिसँगै राजकाज) बाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर रू २५ लाखको ‘सीड मनि (बीज पैसा)’ बाट ‘काठमाडौँ क्षेत्र नं १ सरोकार कोष’ स्थापना गर्ने निर्णय गरेको छु । त्यसले मलाई मनमा अलिकति भए पनि शान्ति दिनेछ,’ मिश्रले भने ।

उनले निर्वाचनमा विजयी भएका प्रकाशमान सिंहलाई बधाई तथा शुभकामना अर्पण गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन् । समाज र देशलाई शीरमा राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रेरणा र शक्ति मिलोस् भन्ने कामना उनको छ ।