मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

फ्रान्समा प्रतिस्पर्धा गरेका मोटर स्पोर्टस्का खेलाडीलाई नासाले गर्‍यो सम्मान

दैनिक नेपाल २०७९ मंसिर २ गते १८:५७

काठमाडौं, २ मंसिर । मोटर स्पोर्टसको अन्तर्राष्ट्रिय महासंघ (एफआईए) ले आयोजना गरेका विश्व मोटर स्पोर्टस् च्याम्पियनशीप–२०२२ मा नेपालबाट प्रतिस्पर्धा गरेका खेलाडी तथा टीम सदस्यलाई नेपाल अटोमोबाइल एसोसिएशन (नासा) ले बिहीबार राजधानीमा एक कार्यक्रमका बीच ‘एथ्लेट्स् अवार्ड’ प्रदान गरेको छ ।

गत २६ अक्टोवरमा फ्रान्सको मार्सेली शहरमा सम्पन्न ओलम्पिक फर्म्याटको सो प्रतियोगितामा नेपाल पहिलोपटक सहभागी भएको हो । पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमा मोटर स्पोर्टस् खेलाडीहरू अनिलकुमार बराल, दिप्रश शाक्य र जिस्वान तुलाधर तथा खेल व्यवस्थापनका तर्फबाट यदुराम लामिछाने र सिर्जना बराललाई अवार्ड तथा प्रमाणपत्रसहित सम्मान गरिएको हो ।

विश्वमा ९० देशका एक हजार भन्दा बढी खेलाडी उपस्थित भएको सो खेलमा नेपालबाट सहभागी खेलाडीहरूले नेपालको झण्डा फहराउँदै मार्चपास गरेका थिए । मोटर स्पोर्टसका विभिन्न १७ बिधामा प्रतिस्पर्धा भएको प्रतियोगितामा टोली कप्तान अनिलकुमार बराल र खेलाडी जिस्वन अटो स्लालम बिधामा थिए भने अर्का खेलाडी दिप्रशले कार्टिङ बिधामा स्पर्धी थिए ।

भौतिक पूर्वाधार एवम् पर्याप्त प्रशिक्षणको अभावका बाबजुद पनि मोटर स्पोर्टस्मार्फत अन्तर्राष्ट्रियस्तरमा देशको प्रतिनिधित्व गरेकोमा प्रोत्साहनस्वरूप खेलाडीहरूलाई सम्मान गरिएको नासाका अध्यक्ष दशरथ रिसालले जानकारी दिए । उनले विश्वकप सरहको प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनु गौरवको बिषय भएको बताउँदै खुशी व्यक्त गरे ।

खेलाडी दिप्रशले पहिलोपटक भए पनि आफूहरूले स्तरीय प्रदर्शन गरेको बताउँदै सम्बन्धित निकाय, सरोकारवाला र सबैको साथ भएमा आगामी दिनमा नेपालले यो खेलबाट पनि पदक भित्र्याउने विश्वास व्यक्त गरे । उनले च्याम्पियनशीपमा आफूहरूको प्रदर्शनको अन्य देशका खेलाडी तथा प्रशिक्षकले समेत तारिफ गरेको स्मरण गरे ।

कार्यक्रममा नासाका वरिष्ठ सल्लाहकार तथा वल्र्ड काउन्सिलका सदस्य गोबिन्द भट्टराई, पत्रकार टीकाराम यात्री, एथ्लेटिक्स कमिसनका प्रमुख उपेन्द्र प्याकुरेल तथा सचिव कृष्ण पौडेलले मोटर स्पोर्टसको विकासका लागि सबै पक्षबाट चासो देखाउनु पर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित