
भक्तपुर, १ मंसिर । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा एमाले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले एमालेको पार्टी संगठन विस्तार र चुनावी रणनीतिका कारण भक्तपुरको गठबन्धनका दलहरुमा करेन्ट लागेको बताएका छन् ।
क्षेत्रीय निर्वाचन परिचालन कमिटीले आज मध्यपुर थिमी नगरपालिका वडा नं. ६ चपाचोमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता बस्नेतले एमालेको चुनावी अभियान देखेर गठबन्धनका दलहरुमा वर्वराहट हुन थालेको बताएका हुन् ।
चुनावी एजेन्डा नै नभएपछि गठबन्धनका दलहरुले एमालेको विरुद्धमा भ्रम फैलाउँदै जनताको बिचमा जाने गरेको आफूलाई जानकारी आएको उल्लेख गर्दै उनले कांग्रेसका टोल कमिटीका नेताहरुले नै एमालेमा भोट हाल्ने दाबी गरे ।
‘कांग्रेसलाई भक्तपुरमा जाडो महिनामा माग्नेको धोती लगाएको जस्तो भएको छ । जाडोमा मागेर लगाएको धोती छ, माथि लगाउँदा मुनी हुँदैन, मुनी लगाउँदा माथि हुँदैन । मध्यपुर तिर दैडियो सूर्यविनायकतिर बिग्रएको छ, सूर्यविनायकतिर दौडियो मध्यपुरतिर बिग्रिएको छ । त्यसैले एमालेलाई सूर्यविनायक तथा मध्यपुर जता गए पनि स्वागत गरेका छन्, विजयको शुभकामना दिएका छन् । कांग्रेसको टोल टोलमा विद्रोह भएको छ, टोल टोलमा महेश बस्नेत खोजिदैछ, एमाले बोलाइदैछ । कांग्रेसले दबाएर राखेका पीडाहरु निर्वाचनमा विस्फोट भएको छ । त्यसैले मध्यपुर तथा सूर्यविनायकमा कांग्रेसमा तरंग पैदा भएको छ, ठूलो करेन्ट लागेको छ । त्यो तरंग र करेन्टले मंसिर ४ गते एमाले र सूर्य चिह्नलाई नयाँ उचाइमा पुर्याउने छ,’ बस्नेतले भने ।















प्रतिक्रिया