बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

नेपाली दूतावास मलेसियाले सुरु गर्‍यो श्रमिकका लागि घुम्ती सेवा

दैनिक नेपाल २०७९ मंसिर १ गते २१:१२

मलेसिया, १ मंसिर । मलेसियास्थित नेपाली दूतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ ।

नेपाली श्रमिकहरु कार्यरत रहेको शहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताए ।

बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले अस्थायीघुम्ती सेवाको उद्घाटन गरे । गैरआवाशीय नेपाली संघ लगायत नेपाली संघ संस्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिएको हो ।

एक हजार भन्दा धैरे नेपाली उपस्थित भएको कार्यक्रममा २ सय ८० जना श्रमिकले राहदानी सम्वन्धी सेवा लिएका थिए । घुम्ती सेवामा राहदानीसम्बन्धी सेवाका साथै दूतावासबाट प्रवाह गरिने विभिन्न सेवाहरु प्रदान गरिएको नेपाली दूतावासले जनाएको छ ।

घुम्ती सेवा उद्घाटनका क्रममा राजदूत पौडेलले नेपाली श्रमिकहरु कार्यरत कम्पनीहरुको स्थलगत निरीक्षण, सेवा सुविधाबारे श्रमिकहरुसँग अन्तरक्रिया तथा सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल समेत गरेका थिए ।

सुरक्षा गार्ड तथा सरसफाइसम्बन्धी कम्पनीहरुमा कार्यरत नेपाली श्रमिकहरुको गुनासो आएपछि उनले सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल गरेका हुन् ।

विशेषत सुरक्षागार्ड र सरसफाइसम्बन्धी श्रमिकको समस्या समाधानका लागि दुई देशबीच भएको श्रम–सम्झौता २०१८ र मलेसियाको श्रम कानुन अनुसार व्यवस्थित गर्न लागिएको राजदूत पौडेलले बताए । राजदूत पौडेलले नेपाली श्रमिक कार्यरत तथा नेपाली श्रमिक माग गर्ने कम्पनीका व्यवस्थानलाई दूतावासमा बोलाएर समेत छलफल गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित