
तुलसीपुर (दाङ), १ मंसिर । आगामी ४ गते हुने प्रधिनिधि र प्रदेश सभा सदस्य निर्वाचनको प्रचार–प्रसारको अन्तिम दिन आज नेकपा एमालेले तुलसीपुरमा घरदैलो तथा वृहत् र्यालीसहित शक्ति प्रदर्शन समेत गरेको छ ।
बजार क्षेत्रको वडा नम्बर ५ र ६ नम्बरबाट आएका नेता कार्यकर्ताको बाक्लो उपस्थिति थियो । एमालेको पार्टी कार्यालय तुलसीपुरबाट सुरु भएको र्याली स्थानीय वीरेन्द्र चोक, बाहिनी चोक भएर बसपार्क, अरनिको मैदान भएर मदन आश्रित चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य उम्मेदवार कोमल ओलीले जनताको साथले नै आफू निर्वाचित हुनेमा ढुक्क भएको बताइन् । उनले हरेक स्थानमा जाँदा मतदाताले एमालेप्रति देखाएको माया नै जितको आधार भएको बताएको दाबी गरेकी छिन् ।

यस्तै, प्रदेश सभा सदस्य उम्मेदवार घनश्याम पाण्डेले गठबन्धनविरुद्ध जनताहरू आफै जागेर एमालेप्रति आकर्षित भएको बताएका छन् । गठबन्धन स्वार्थका निमित्त भएकाले आगामी ४ गते हुने निर्वाचनबाट जनताले जवाफ दिने उनको भनाइ छ ।
उनले आफू नगर प्रमुख हुँदा यहाँको जनताका लागि गरेका कामबाट आफू निर्वाचित हुने दरिलो आधार भएको बताएका छन् । त्यस्तै कोरोना महामारीका बेला देखा नपरेका नेताहरू आज निर्वाचनको बेला जनतासँग झूठको खेती गर्न थालेको पनि उनले बताएका छन् ।
सभाको सहजीकरण नगरसचिव रूप बहादुर खत्रीले गरेका थिए ।















प्रतिक्रिया