
कपिलवस्तु, १ मंसिर । पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर–२ का नेकपा एमाले उम्मेदवार वृजेशकुमार गुप्ताले भूमिहीन सुकुम्बासीलाई जग्गा दिन एमालेको सरकार आउनुपर्ने बताएका छन् ।
उनले आफ्नो क्षेत्रका मतदातासँग भेटघाट गर्दै गठबन्धनको सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न नसक्ने बताए । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भूमिहीन सुकुम्बासीको लगत लिई जग्गा दिनका लागि काम सुरु भएको गुप्ताले बताए ।
गठबन्धनको सरकारले सो आयोग विघटन गरी अर्को आयोग बनाएपछि दुई वर्षसम्म आयोग कागजीमात्र भएको केही काम नगरेको उनको भनाइ छ । दुई वर्षसम्म लालपुर्जा वितरण गर्ने स्थितिमा आउनुपर्ने भए पनि हालसम्म ठोस काम नभएको उनको भनाइ थियो ।
इन्जिनीयर समेत रहेका गुप्ता जनतासँग आफूले गरेको काम र भावी योजना लिएर घरदैलो पुग्ने गर्दै आएका छन् । उनले आफ्नो पाँच वर्षे कार्यकालमा सडक, पुलपुलेसा, अस्पताल, कृषि र शिक्षाको क्षेत्रमा धेरै काम भएको दाबी गरेका छन् ।
कपिलवस्तु क्षेत्र नम्बर २ (ख) प्रदेश सभा सदस्य पदका उम्मेदवार धर्मबहादुरलाल श्रीवास्तवले बाणगङ्गा नदी कटान रोक्नका लागि आफू सधैं प्रतिवद्ध रहेको उनको भनाइ छ । पार्टी अध्यक्ष ओली प्रधानमन्त्री भएको बेला योजनाको सुरुवात गरी डीपीआर सम्पन्न गरी हाल टेन्डरको प्रक्रियामा रहेको उनले बताए ।
उनले आफ्ना क्षेत्रका जनताको सडक, पुलपुलेसा, कृषि, रोजगारीको समस्या समाधान गर्न एमाले नेतृत्वको सरकार आउनुपर्नेमा जोड दिएका छन् ।















प्रतिक्रिया