
दोलखा, २८ कात्तिक । दोलखामा सत्तामा आवद्ध गठबन्धन दलहरूले निरन्तर आचारसंहिता उल्लंघन गरेका छन् ।
आचारसंहित उल्लंघन गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयमा परेको उजुरीको आधारमा स्थानीय प्रशासनले कारबाहीको प्रक्रिया अगाडि बढाएको छ ।
सत्ता गठबन्धनका उम्मेदवार र जनप्रतिनिधिहरूले दोलखामा खुलेआम लगातार आचारसंहिताको खिल्ली उडाइरहेका थिए । पछिल्लो समय बागमती प्रदेश सरकारका मन्त्री विशाल खड्कादेखि गठबन्धनका नेता तथा कार्यकर्ताहरूले निर्वाचन आचारसंहिताविपरीत सामग्रीहरू वितरण गर्ने, उम्मेदवारको तस्वीर प्रयोग गरेर स्वागतद्वार बनाउने, उम्मेदवारको तस्वीर राखेर व्याच वितरण गर्नेलगायतका कार्यहरू गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।
यसरी उजुरी परेपछि कार्यालयबाट तत्कालै ती सामग्री हटाउन पत्राचार गरिएको थियो । सो कार्यमा अटेरी गरेपछि तामाकोशीको भीरकोटमा राखिएको प्रचार–प्रसारको सामग्रीहरू भने हिजो प्रहरीले आफैं हटाएको छ ।
जिल्लाका विभिन्न पालिकाहरूमा भएका आचारसंहिताविपरीतका कार्यहरू तत्काल रोक्न भनिएको छ । कतिपय स्थानमा प्रशासनले समेत त्यस्ता सामाग्री हटाएको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक मुरारी निरौलालले जानकारी दिए ।
कात्तिक २३ गते प्रशासनमार्फत आचारसंहिताविपरीत टाँगिएका निर्वाचन सामग्री हटाउन निर्देशन दिएको र प्रहरीले हटाई रहेको उनले बताए । अहिलेसम्म कति सामग्री हटाइयो भन्ने जानकारी भने आफूसँग नरहेको निरौलाको भनाइ छ ।
जिल्लाका अरु पालिकाहरूमा पनि व्यापक रूपमा आचारसंहिता उल्लंघन भएको नागरिकहरूको गुनासो छ । शैलुङ गाउँपालिका वडाहरूमा समेत प्रचारप्रसार सामग्रीहरू गठबन्धनका दलहरूले राखेका छन् ।
वैतेश्वर गाउँपालिकामा गाउँ गाउँमा समेत आचारसंहिता विपरित व्यानर, तुल गठवन्धनमा आवद्ध दलहरूले राखेका छन् । पटक पटक जानकारी गराउदाँ पनि प्रशासनले वास्ता गरेको छैन । नेकपा एमाले वैतेश्वर गाउँपालिका कमीटीका अध्यक्ष ऋषिकेस उप्रेतीको भनाइ छ ।















प्रतिक्रिया