
काठमाडौं, २७ कात्तिक । बैंकहरूले एकतर्फी रूपमा कर्जाको ब्याज, प्रिमियम तथा सेवा शुल्कमा गरेको बृद्धिलगायत उद्योगीलाई कालोसूचीमा राख्ने कार्यप्रति नेपाल घरेलु तथा साना उद्योग महासंघले विरोध जनाएको छ ।
नेपालको अर्थतन्त्र अहिले इतिहासकै असहज र कठिन परिस्थितिबाट गुज्रिरहेको भन्दै महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले भने, ‘एकातिर बैक तथा वित्तीय संस्थाहरूले उत्पादनमुलक उद्योगलाई ऋण प्रवाह नगर्ने र अर्कोतर्फ मनोमानी र एकतर्फी ढंगले चर्को रूपमा ब्याजदर बढाइरहेका छन् परिणामस्वरूप बजार भाउ अप्रत्याशित रूपमा उकालो लागिरहेको छ ।’
यस्ता प्रतिकुल बैकिङ्ग नीति र बैंक तथा वित्तीय संस्थाहरूले कर्जाकोे ब्याजदरमा गरेको अत्यधिक वृद्धिले उद्योेग व्यवसाय धरापमा पर्दै गएको भन्दै उनले यसबाट मुलुकको अर्थतन्त्र अस्तव्यस्त बन्न पुगेको बताए ।
यस्तो परिस्थितिमा पनि सरकार तथा केन्द्रीय बैंक मुकदर्शक बनेर बैंकहरूले गरेका ज्यादतीलाई मौन समर्थन गरिरहेको भन्दै महासंघले यसलाई आम जनताले नेताहरूले आउँदै गरेको निर्वाचनको खर्च जुटाउने कार्यको रूपमा बुझिरहेको जनाएको छ ।
प्रचलित बैंक तथा वित्तीय संस्थासम्बन्धी (वाफिया) ऐनविपरीत केही नीजि क्षेत्रका मुख्य छाता संस्थाका प्रमुख पदाधिकारीहरू बैंकर पनि आफै र उद्योगी व्यापारी पनि आफै भएको हुँदा आफ्नो अन्तर बैकिङ्ग सम्बन्धलाई प्रयोग गर्दै आफूहरूले सस्तो व्याजदरमा रकम उठाउने र लघु, घरेलु तथा साना उद्योगीहरूलाई चर्को ब्याजदरमा पार्ने षडयन्त्र गर्दै आएको महासंघको ठहर छ ।
उनीहरू एकातर्फ बैंकमार्फत बढी मुनाफा तान्ने दौडमा सामेल हुने र अर्को तर्फ उद्योगी व्यवसायीको पक्षमा बोले जस्तो गर्ने नीजि क्षेत्रका ती छाता संस्थाका पदाधिकारीहरूको नाटकीय चरित्र तथा बैंकहरूले देखाएको व्यवहारको नेपाल घरेलु तथा साना उद्योग महासंघले घोर भत्सर्ना गरेको छ ।
नेपाल सरकार, नेपाल राष्ट्र बैंक र बैंकर्स संघ समेतको गम्भिर ध्यानाकर्षण गराउँदै बैंकहरूले एकतर्फी ढङ्गले बृद्धि गरेको व्याजदर, प्रिमियम लगायत सेवा शुल्कका अतिरिक्त कोभिड–१९ को लकडाउनकोे अवधिमा समेत आपूर्ति व्यवस्थालाई नियमित राख्न जोखिम मोलेर उद्योग सञ्चालन गरेका लघु घरेलु तथा साना उद्योगीहरूलाई कालोसूचीमा राख्ने सूचनाको विरोधमा आम निर्वाचनकै समयमा पनि आन्दोलित हुनुपर्ने वाध्यतातर्फ सचेत गराउँदै यो समस्या समाधानका लागि अग्रसर हुन महासंघले आग्रह गरेको छ ।
अन्यथा हुने आन्दोलनको जिम्मेवारी सम्बन्धित पक्षले लिनुपर्ने तर्फ महासंघले सचेत गराएको छ ।















प्रतिक्रिया