१ कार्तिक २०८३, आइतबार

बैंकको आतंक रोक्न राष्ट्र बैंकको हस्तक्षेप जरुरी छ : महासंघ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको ब्याजदरमाथि केन्द्रीय बैंकले हस्तक्षेप गर्नुपर्ने बताएको छ ।

महासंघका अध्यक्ष कुमार कार्कीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बैंकहरु अचाक्ली ब्याजदर बढाएको भन्दै हस्तक्षेप जरुरी रहेको बताएका हुन् ।

ब्याजदर एक अंकमा हुनु पर्ने बताएको महासंघले बैंकहरुले लिलामबिक्रीको आतंक मच्चाएको आरोप समेत लगाएको छ । करोडौं रकम पर्ने धितोमा रहेको घरजग्गा पचाउने नियतले बैंकहरुले ३५ दिने सूचना निकाल्ने गरेको महासंघको आरोप छ । संकटको बेलामा सामान्य मानवियता समेत बैंकहरुले नहेर्ने भन्दै महासंघले ३५ दिने सूचनालाई बढाएर ६ महिना बनाउनु पर्ने बताएको छ ।

‘संकटको अवस्थामा सामान्य मानवियता पनि नहेरी पत्रपत्रिकामा ३५ दिने सूचना निकाल्ने र करोडौ मूल्य पर्ने सम्पत्तिलाई थोरै ऋण लिएका भरमा लिलामी गरेर वित्तीय संस्थाले असुल गर्ने कोशिस गरेको पाइएको छ’ अध्यक्ष कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘धितोलिलाम गर्ने सूचना ३५ दिन होइन कम्तिमा पनि ६ महिना हुनुपर्छ र लिलामी गर्नुअघि ऋण चुक्ता गर्न एक वर्षको अवधि दिनु पर्छ ।’

बैंकहरुले ओडी लगायतका कर्जा ठप्पै बनाउदा धेरै व्यवसायीहरु व्यवसाय नै बन्द गर्ने अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ । ब्याजदरमाथि हस्तक्षेप मूख्य एजेण्डा बनाएको महासंघको विज्ञप्तिमा भनिएको छ, ‘ उद्योगी व्यवसायीहरुलाई ऋण चुक्ताका लागि अनावश्यक दवाव दिने काम रोक्न, सहज रुपमा ऋण उपलब्ध गराउन, धितोलिलामको समयावधि बढाएर ६ महिना पुर्याउन र ब्याजदरलाई समेत एकल अंकमा झार्ने गरी आवश्यक नीति तर्जुमा गर्नुपर्छ ।’