१ कार्तिक २०८३, आइतबार

निर्वाचनका बेला हुने सुरक्षाका कुनै पनि कमीकमजोरी क्षम्य हुने छैन : महानिरीक्षक अर्याल

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले निर्वाचनका बेला हुने सुरक्षाका कुनै पनि कमीकमजोरी क्षम्य हुन नसक्ने बताएका छन् ।

वाहिनी, गण तथा गुल्म कमाण्डहरूलाई निर्वाचनलक्षित विशेष निर्देशन दिँदै उनले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध भएर लाग्न निर्देशन दिएका हुन् ।

‘निर्वाचनका बेला हुने कुनै पनि सुरक्षा कमी कमजोरी क्षम्य हुने छैन,’ महानिरीक्षक अर्यालले भने, ‘सवारी साधनको उचित प्रयोग, त्यसमा अपनाउनु पर्ने सावधानी र न्यूनतम श्रोतसाधनको अधिकतम प्रयोग गर्दै भोक, प्यास र थकानको परवाह नगरी २४सै घण्टा क्रियाशील रहँदै राष्ट्रको यस महान अभियानमा उच्च मनोवल र हौसलाका साथ कार्यक्षेत्रमा खटिनु हाम्रो कर्तव्य हो ।’

निर्वाचनको समयमा फिल्डमा खटिँदा सामान्य भन्दा सामान्य त्रुटि समेत आफूले सुन्न र देख्न नचाहेको बताउँदै उनले बन्दोबस्तीलगायत अन्य भौतीक व्यवस्थापन संगठनले मातहत इकाईहरूसम्म पुर्‍याईसकिएकाले त्यसको उच्चतम र भरपूर प्रयोग गर्न समेत निर्देशन दिएका छन् ।

 आइतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा भर्चुअल माध्यमबाट देशभरका कमाण्डहरूलाई एकैसाथ निर्देशन दिँदै महानिरीक्षक अर्यालले निर्वाचनका बखत कार्यक्षेत्रमा खटिँदा आइपर्ने जस्तोसुकै चुनौतीहरूको सामना गर्न तयार भएर बस्न पनि भनेका छन् । निर्वाचनको दौरान बल प्रयोग गर्नुपरेमा बल प्रयोगको सिद्धान्त अनुसार सबै प्रकारका सावधानी अपनाएर जिम्मेवारी पूरा गर्न र कुनै पनि कमीकजोरी भएमा स्वयम् युनिट कमाण्डर जवाफदेही हुनुपर्ने अर्यालको भनाइ छ ।

फिल्डको वस्तुस्थिति बुझेर तत्काल चेनअफ कमाण्डमा रिपोर्ट गर्नुकासाथै मुख्यालयबाट खटिने निर्वाचन अनुगमन टोलीले समेत फिल्डमा देखिएका समस्याहरूलाई तत्काल समाधान गर्न र मुख्यालयबाट गर्नुपर्ने समन्वय, सहयोग र समाधानमा कुनै कसर बाँकी नराख्न उनले विभागीय प्रमुखहरूलाई समेत सोही अवसरमा निर्देशन दिएका छन् ।

सशस्त्र प्रहरी बल, नेपालले देशैभरी खटिएका जुनसुकै दर्जाका कमाण्डर तथा अन्य सशस्त्र प्रहरी कर्मचारीहरूले कार्य विभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतम, केन्द्रिय निर्वाचन सेल प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधान तथा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विष्णु प्रसाद भट्टलाई सम्पर्क गर्न सक्ने गरी आजैबाट हटलाईन टेलिफोनको समेत व्यवस्था गरेको छ ।

महानिरीक्षक अर्यालको निर्देशन अघि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले निर्वाचनको समयमा हुनसक्ने समस्या, चुनौती तथा कार्यक्षेत्रमा खटिंदा अपनाउनुपर्ने कार्यशैलीबारे मातहत कमाण्डरहरूलाई निर्देशन दिएका थिए भने महानिरीक्षक अर्याल समक्ष सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले चुनाव केन्द्रित प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्र प्रकाश गौतम तथा बंशी राज दाहाल लगायत सशस्त्र प्रहरी बल, नेपालका वाहिनीपतिहरू, मुख्यालयका वरिष्ठ अधिकृतहरू, गणपति र गुल्मपतिहरूको प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट उपस्थिति रहेको थियो ।