
काठमाडानैं, २७ कात्तिक । भारतकी सुप्रशिद्ध रङ्गकर्मी तथा अभिनेत्री शबाना आजमी नेपाल आउने भएकी छिन् ।
दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) मा विशेष अतिथिको रूपमा सहभागी हुन उनी काठमाडौं आउन लागेकी हुन् ।
आगामी मंसिर ९ गते सुरु हुने महोत्सवको उदघाटनमा विशेष अतिथिको रूपमा आयोजक मण्डला थिएटरले रङ्गमञ्च र चलचित्रमा सुप्रशिद्ध अभिनेत्री आजमीलाई आमन्त्रण गरेको हो । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधिताको उत्सव’ नाराका साथ हुन लागेको महोत्सवमा उनले नेपाली रङ्गकर्मी तथा कलाकारहरूलाई ‘मास्टरक्लास’ पनि दिने महोत्सवकी निर्देशक सिर्जना सुब्बाले जानकारी दिइन् ।
मास्टरक्लास महोत्सवको दोस्रो दिन मंसिर १० गते साँझ ७:३० बजे मण्डला थिएटरको मुख्य हलमा हुनेछ । साथै अभिनेत्री शबाना आजमीले महोत्सवले आह्वान गरेको ‘इनोभेटभि आइडिया अवार्ड’का लागि आवेदन परेकामध्ये एक अवधारणालाई आयोजकको तर्फबाट पुरस्कृत पनि गर्ने महोत्सवकी संयोजक विजया कार्कीले बताइन् ।

भारतमा सबैभन्दा प्रशंसित अभिनेत्रीहरूमध्ये एक शबाना आजमीले उत्कृष्ट अभिनेत्रीका लागि पाँच राष्ट्रिय फिल्मफेयर अवार्ड तथा विभिन्न अन्तर्राष्ट्रिय सम्मान पाएकी छिन् । विशिष्ट र अपरम्परागत महिलाको चित्रणका लागि परिचित आजमीलाई भारत सरकारले सन् १९९८ मा ‘पद्यश्री’ र सन् २०१२ मा ‘पद्य भूषण’बाट सम्मान गरेको थियो ।
मण्डला थिएटरमा मंसिर १७ सम्म आयोजना हुने महोत्सवमा देश–विदेशका २२ नाटकको सहभागिता हुनेछन् । महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका, उरुग्वे र अर्जेन्टिनाका नाटकहरू समावेश छन् ।















प्रतिक्रिया