
काठमाडौं, २७ कात्तिक । वरिष्ठ अभिनेता सन्तोष पन्त निर्मित चलचित्र ‘हिजो आजका कुरा’ ले अमेरिकाबाट विदेश प्रदर्शन यात्रा सुरू गरेको छ ।
अमेरिकाको फेयरफ्याक्स सिटीस्थित सिनेमा आर्टस् थिएटरमा आजदेखि प्रदर्शन भएको चलचित्रका निर्देशक साकार पन्तले जानकारी दिए । उनका अनुसार १८ देखि २५ नोभेम्बरसम्म डल्लासस्थित सिनेपोलिस, इयुलेस एण्ड फन मुभी ग्रिलमा चलचित्र प्रदर्शन हुनेछ भने २० नोभेम्बरमा ओक्लाहाउमाको रोडियो सिनेमामा प्रदर्शन हुने तय भइसकेको छ ।
गत असोज २८ मा देशभरका हलमा प्रदर्शन भएको चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । अमेरिकाका अन्य शहरहरुमा पनि चलचित्र क्रमश: प्रदर्शन हुने तयारीमा रहेको निर्देशक साकारले जानकारी दिएका छन् । उनका अनुसार अमेरिकासँगै चलचित्र २५ नोभेम्बरमा अष्ट्रेलियाको क्यासुअरिनामा प्रिमियर हुँदैछ । त्यसपछि फ्युजन मिडिया प्रोडक्शनले अन्य शहरहरुमा ‘हिजो आजका कुरा’ प्रदर्शन गर्नेछ ।
‘विदेशमा ‘हिजो आजका कुरा’ प्रति दर्शकमा देखिएको आकर्षणले अत्यन्तै खुशी लागेको छ, ’ निर्देशक पन्त भन्छन्, ‘अमेरिका, अष्ट्रेलिया झै क्यानडा, युरोप, जापानलगायत विश्वका थुप्रै देशबाट चलचित्रको डिमाण्ड आएको छ । हामी सकेसम्म धेरैभन्दा धेरै देशमा प्रदर्शन गर्ने तयारीमा छौँ ।’
पन्त चलचित्र प्रोडक्सनको ब्यानरमा निर्मित चलचित्रको कथा बरिष्ट अभिनेता पन्तको हो भने पटकथा सन्दिप किस्नाले लेखेका हुन् । रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त, सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् ।
चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा, स्व.जयनन्द लामा, लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, निराजनप्रसाद अर्याल, सबिन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतले अभिनय गरेका छन् ।















प्रतिक्रिया