शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

‘बुथ लुट्ने तथा जनतामा आतङ्क सृजना गरी अशान्ति मच्चाइयो भने जस्ताको त्यस्तै प्रतिवाद गर्छौँ’

दैनिक नेपाल २०७९ कार्तिक २७ गते १४:४३

आनन्द प्रसाद पोखरेल, पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री नेकपा एमाले

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री आनन्द प्रसाद पोखरेल बागमती प्रदेशमै पार्टीका उम्मेदवार जिताउने अभियानमा जुटेका छन् ।

अभियानलाई सार्थक बनाउन उनले गृहजिल्ला दोलखासहित वागमतीको समेत चुनावी कमाण्ड सम्हालिरहेका छन् । चुनावको मिति नजिकिँदै जाँदा भने उनी आफ्नै गृहजिल्लामा मतदाता भेटघाट र चुनावी सभामा व्यस्त छन् ।

एमालेको लालकिल्ला दोलखामा पछिल्लो स्थानीय तहको निर्वाचनमा अपेक्षित परिणाम आउन सकेन । सत्ता गठबन्धनसँग एक्लै लडेको एमालेले जित्ने आँकलन गरेको पालिकासमेत गुमाउनु पर्‍यो ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा एमालेबिरुद्ध पाँचदलीय गठबन्धन बनेको छ । कस्तो छ त समग्र चुनाव परिचालन ? के एमालेले दोलखामा विरासत कायम राख्छ त ? यिनै प्रश्नमा केन्द्रित रहेर पूर्वमन्त्री पोखरेलसँग कुराकानी गरिएको छ । प्रस्तुत छ कुराकानीको सम्पादित अंश:–

मतदानको दिन नजिकियो, दोलखामा सत्तारुढ गठबन्धनसँगको चुनावी प्रतिस्पर्धा त चुनौतीपूर्ण होला नि ?

विपरीत राजनीतिक आस्था बोक्ने माओवादी र कांग्रेसले मिलेर नेकपा एमालेलाई हराउनै पर्छ भन्ने मान्यताका साथ अभियान सञ्चालन गर्ने प्रयत्न गरेका छन् तर उनीहरूका बीचमा व्यवहारमा तालमेल देखिदैंन । दुवै दलका उम्मेद्वार र नेताहरू सँगै हिँडेर प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि कतै पनि भोट मागेको मैले देखेको छैन । आफ्ना–आफ्ना ढङ्गले चलेको देखिन्छ ।

यो चुनावमा मतपत्र हेर्दा नेपाली कांग्रेसले आफ्नो चिह्न नपाउने र समाजवादीले पनि आफ्नो चिह्न नपाउने हुँदा साँच्चै भन्दा प्रतिनिधिसभामा आमनेसामनेको प्रतिस्पर्धा भनेको नेकपा एमाले र माओवादी केन्द्रबीचको जस्तो मात्र देखिन्छ ।

नेपाली कांग्रेसभित्र लोकतन्त्रप्रति प्रतिबद्ध साथीहरू हुनुहुन्छ । हिजोका दिनमा लगातार पञ्चायतबिरोधी आन्दोलनदेखि संघीय लोकतन्त्रलाई व्यवस्थित गर्दासम्म उहाँहरूसँग हामी सँगै हिँडेका हौं । त्यसकारण दोलखाको सन्दर्भमा नेपाली कांग्रेसले पनि नेकपा एमालेलाई व्यापक रूपमा समर्थन गर्ने र भोट दिने स्थिति छ । दोलखामा वास्तवमा जनस्तरमा गठबन्धन नै छैन र असर पनि छैन ।

तपाइँ आफै पनि लामो संसदीय राजनीतिको भूमिकामा रहनुभयो । खासगरी नेकपा एमालेमाथि लामो समयसम्म जिल्लाको नेतृत्व गर्ने अवसर प्राप्त गरे पनि खासै काम गर्न नसकेको गम्भीर आरोप विपक्षीहरूले लगाइरहेको देखिन्छ, यसप्रति तपाईंको के प्रतिक्रिया छ ?

नेकपा एमाले भनेको निरकुंश पञ्चायती व्यवस्थालाई तत्कालीन माले पार्टीको नाममा जिल्लामा संघर्ष गरेर पञ्चायत अन्त्यका लागि अग्रणी भूमिका निर्वाह गर्ने पार्टी हो । २०४६ पछिका जनआन्दोलन परिचालनमा नेपाली कांग्रेस दोलखा सहयोगीको रूपमा मात्र थियो भने नेकपा एमाले राजनीतिक अगुवा थियो ।

जतिबेला २०४८ सालमा निर्वाचन भयो, त्यसपछिको विकासलाई विश्लेषण गर्ने हो भने दोलखामा जति पनि सडक सञ्जालसहित भौतिक पूर्वाधारको विकास भएको छ, ती सबै विकासको एकल हकदार नेकपा एमाले मात्र हो । उसैको नेतृत्वमा जिल्लाको समग्र विकास अगाडि बढ्दै आएको छ ।

कुनैबेला जलविद्युत् विकासको कुरा जिल्लामा कतिपयलाई सपना जस्तै लाग्थ्यो । हामीले स्वदेशी पुँजीमा माथिल्लो तामाकोशी आयोजना बन्नुपर्छ भनेर लबिङ्ग गर्दा कतिपय वित्तीय एकाधिकार पुँजीजवादका पक्षपोषक राजीनीतिक दलहरूले सरकार र विद्युत् प्राधिकरण मिलेर बनाउन सक्छ भन्ने कुरा नै पत्याउँदैनथे, कतिपय बेला उनीहरू हामीलाई खिसिटिउरी गर्नसमेत पछि पर्दैनथे ।

यसका लागि मेरै संयोजकत्वमा सबै सरोकारवालाहरू राखेर तामाकोशी सरोकार समिति बनाएर राष्ट्रिय अभियानको माहोल बनायौं । संसदमा नेपाली कांग्रेसका अर्थमन्त्रीले नेकपा एमालेका सांसदहरूलाई अपमान गरिरहेको बेला मैले स्वदेशी लगानीमा माथिल्लो तामाकोशी नबने र सरकारले यसको नेतृत्व नलिए आत्मदाह गर्छु भन्ने घोषणा गरे । यो दबाबबाट आयोजनाका लागि बजेटको घोषणा भएपछि पनि विद्युत् प्राधिकरणसँग सम्झौता गरेर २६ करोड बजेट र सात करोड रूपैयाँ बजेट लिएर बाटो सडक बनाउने काम मेरै नेतृत्वमा सम्पन्न भएको हो ।

त्यसैले पहिलो चोटी जनतालाई शेयर दिने कुरालाई नीतिगत रूपमा निर्णय गर्ने र स्वदेशी पुँजीमा आयोजना बनाउने कामको नेतृत्व नेकपा एमालेले गरेको हो । त्यसैको प्रकाशभित्र अहिले थुप्रै सानाठूला नीजि क्षेत्रका आयोजनाको विकास भएको छ । आगामी दिनमा अझै हुने सम्भावना छ ।

त्यस्तै, २०४८ सालमा एउटा प्रमाणपत्र पढाइ हुने क्यापस थियो गौरीशंकर क्याम्पस । अहिले स्नात्तकोत्तर सम्मको बहुमूखी क्याम्पस भएको छ । जिल्लाभित्र ११ वटा उच्च शिक्षाका क्याम्पस, ३० वटा उच्च माध्यमिक विद्यालय, १० वटा प्राविधिक शिक्षालय, ७० भन्दा बढी नयाँ माध्यमिक विद्यालय र १५० भन्दा बढी आधारभूत विद्यालयहरू स्थापना भएका छन् । अहिले दोलखाको साक्षरता प्रतिशत ९८ प्रतिशत पुगेको छ । यसको विस्तार र स्तरोन्नतिमा नेकपा एमालेकै नेतृत्वले विशेष पहलकदमी लिएको तथ्य जगजाहेरै छ ।

सामाजिक सुरक्षा, पर्यटन क्षेत्रको विकास, सांस्कृतिक क्षेत्रको विकास लगायतका पूर्वाधार निर्माणका कुराहरू हाम्रै नेतृत्वमा भएको हो । ०७२ सालको भूकम्पपछि जिल्लाभित्र बनेका करिब ८० वटा आधुनिक र भव्य विद्यालय भवनहरूमा विज्ञान प्रयोगशाला तथा कम्प्युटर प्रयोगशाला, २ दर्जन जिल्लास्तरीय सरकारी भवनहरू, ६० भन्दा बढी वडा कार्यालयहरू, स्वास्थ्य चौकी भवनहरू, सुरक्षा निकायका भवनहरू र सामुदायिक भवनहरू निर्माण भएका छन् ।

अरु राजनीतिक दलका निर्वाचित प्रतिनिधिहरूले सहयोगी भूमिका निर्वाह गरे पनि दोलखाको नयाँ भिजन र विकासको नेतृत्व नेकपा एमालेले गरेको हो । त्यसकारण विकासको उपलब्धि होस् वा कमीको पनि हामी भागीदार हौं । जे काम अझै पुरा भएका छैनन्, त्यसका लागि नेकपा एमाले दोलखाले प्रतिवद्धता पत्र जारी गरेको छ । ती जारी गरेका प्रतिवद्धतालाई पुरा गर्ने हिम्मत पनि नेकपा एमालेले मात्र गर्न सक्छ । जनताले उठाएका गुनासालाई म सकारात्मक रूपमा लिन चाहन्छु । धन्यवाद दिन चाहन्छु । अब बाँकी रहेका कुराहरू पुरा गर्न पनि दोलखाली जनताले मंसिर ४ गते सूयमा भोट दिएर जिताउनुपर्छ ।

यहाँहरूले घोषणापत्रमा उल्लेख गरेका विकास र परिवर्तनका उपलब्धिहरू एमाले एक्लैले गरेको होइन भनेर विपक्षीहरूले प्रश्न उठाइरहेका छन् नि ?

यसको प्रश्न र उत्तर खोज्नेहरूमै विरोधाभास छ । मैले भने नि, अरु राजनीतिक दलहरूको पनि कँहि न कँहि आंशिक सहयोगी भूमिका होला तर दोलखा जिल्लाको उपलब्धिको नेतृत्व नेकपा एमालेले मात्र गरेको भन्ने तथ्य जनस्तरमै स्थापित छ । यति हुँदाहुँदै पनि उहाँहरूले भ्रम फैलाउन खोज्नुको कुनै औचित्य छैन ।

मंसिर ४ गतेको निर्वाचनमा दोलखामा नेकपा एमालेले नै जित्छ भन्ने आधारहरू दिनसक्नुहुन्छ ?

दोलखाली जनताको जति पनि घरघर पुगेको छु, उहाँहरूले भौतिक विकास र यातायातको विकासका विषयमा प्रश्न गर्नुभएको छ । अहिले ३०० किलोमिटरभन्दा बढी पक्की सडक बनेको छ । २ हजार किलोमिटरभन्दा बढी कच्ची सडक निर्माण गरेका छौँ । जिल्लाका ७४ वडामध्ये ७० भन्दा बढी वडा कार्यालयहरूबाट कम्तीमा टाढाबाट ३ घण्टा र नजिकबाट बढीमा १ घण्टाको यात्रामा सदरमुकाम आइपुग्न सक्नेगरी पूर्वाधारको विकास गरेका छौं । त्यसलाई कालोपत्र गर्नुपर्ने कुरा जनताले उठाउनुभएको छ । हामीले जनताका ती माग समेटेर प्रतिवद्धता पत्र अगाडि सारेका छौं ।

अर्को कुरा, जनताको सपना तामाकोशी तेस्रो जलविद्युत् आयोजना हो । यसका लागि सुरुमा १२०० मेगावाटको डीपीआर बनाउने काम भयो । अध्ययनका क्रममा ६५० मेगावट क्षमताको विजुली उत्पादन हुने देखियो । तर तत्कालीन जलश्रोतमन्त्री जनार्दन शर्माले ६५० मेगावाट क्षमातालाई ३ सय मेगावाटको हाराहारीमा झारेर एशियन पावरको नाममा भएको लाइसेन्स खारेज गरी भवन भट्ट भन्ने व्यक्तिको नाममा दिने निर्णय गर्नुभयो । उहाँले तामाकोशीको उत्पादन क्षमतालाई अवमूल्यन गर्नुभयो । तर, भवन भट्टले आयोजना सञ्चालनको काम नै सुरु गरेनन् । यसरी तामाकोशी तेस्रो जलविद्युत् आयोजना बन्न नदिने अहिले जुन ढङ्गको षड्यन्त्र गरेर दोलखाली जनतालाई ठग्ने काम हुँदैछ, यसलाई आम मतदाताले बुझ्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु ।

कमिशनको खेलमा क्षमता घटाउने र दोलखाली जनतालाई ठग्ने काममा प्रत्यक्ष रूपमा नेकपा माओवादी केन्द्रको हात रहेको छ । यद्यपि, माथिल्लो तामाकोशी आयोजनाकै मोडलमा तामाकोशी तेस्रो आयोजना समयमै सुरु गर्ने कामको अगुवाई एमालेले गर्नेछ भन्ने कुराप्रति म दोलखाली जनतालाई आश्वस्त पार्न चाहान्छु । हामीले यो आयोजनालाई पनि ५ वर्षभित्र सञ्चालनको प्रक्रियामा अघि बढाउने प्रतिवद्धतापत्रमा उल्लेख गरेका छौं ।

जलविद्युतको विकास गरेर तामाकोशीले के दियो भन्ने प्रश्न पनि कतिको छ । तामाकोशीले झन्डै ६० करोडको वार्षिक रोयल्टी गौरीशंकर र बिगु गाँउपालिकालाई दिन्छ । खिम्ति जलविद्युत् आयोजनाले ६ करोड रोयल्टी तामाकोशी गाँउपालिकालाई दिन्छ । साथै दोलखा जिल्लामा हामीले गरेको कामको प्रतिफलस्वरूप बढी भएको विजुली नेपालबाट भारतलाई बेचेर वैदेशिक मुद्रा भित्रिने अवस्था बनेको छ । यसले अवश्य पनि नेपाल–भारतबीचको व्यापार घाटा कम गर्न सहयोग पुगेको छ ।

यस आयोजनाकै कारण चीनसँग जोडिने नेपालको उत्तरी सीमामा पनि पूर्वाधार विकास अगाडि बढेको छ । आयोजनाले दोलखाका उत्तरी क्षेत्रको जीवनस्तरमा व्यापक परिवर्तन गरेको छ । यो हाम्रो ठूलो उपलब्धि हो ।

आयोजनाको दीर्घकालीन फाइदा चाहिँ के–के हुन् ?

राष्ट्रिय रूपमा अझ फाइदा छ । एक महिनाअघिको तथ्यांक भन्ने हो भने १७ अर्ब बराबरको बिजुली भारतमा व्यापार गरेको छ । यसले व्यापार घाटा कम गराएको छ । शेयरको कुरा गर्दा अब जनाताको क्षमता अनुसार हामीले २५ प्रतिशतभन्दा बढी प्रभावित क्षेत्रका जनतालाई बिजुलीमा लगानी गर्ने अवसर दिनुपर्छ भन्ने नयाँ मान्यता बनाएका छौं । जिल्लालाई वागमती प्रदेशकै पयर्टन गन्तव्यका रूपमा विकास गर्नेगरी दोलखाको पर्यटन प्रवद्र्धनका कार्यक्रम अगाडि सारेका छौँ ।

जिरीको मानव निर्मित ताल, फिल्म सिटी, कालिन्चोकलाई प्रवद्र्धन गर्ने विषयहरू प्राथमिकतामा छन् । त्यस्तै, दोलखामा १२ जनजातिहरू छन् । दोलखामा रहेका लोपोन्मुख, अल्पसंख्यक, सम्पूर्ण जनजाति तथा जातिहरूको मौलिक संस्कृति तथा इतिहासको जर्गेना गर्न जातीय संस्कृतिलाई जोडेर सांस्कृतिक राष्ट्रवादको अवधारणासहित अघि बढ्नुपर्ने आजको आवश्यकता छ । पौराणिक र सांस्कृतिक इतिहास बोकेको हाम्रो जिल्ला धार्मिक र सांस्कृतिक पर्यटनका लागि उद्गम स्थल हो ।

प्राकृतिक रूपमा च्छोरोल्पा, शैलुङ्ख, गौरीशंकरजस्ता ठाँउहरू छन् । यी ठाँउहरूको विकासको सम्भावनाले समृद्धिको आधार तयार हुन्छन्, जसले आन्तरिक रोजगारी सिर्जना गर्ने प्रचुर सम्भावना रहन्छ । विदेशबाट फर्किएर आएका दोलखालीहरूलाई कर्जासहितको उद्यमशीलताको विकास र एउटा वडामा कम्तिमा १५ जनालाई सीपमूलक तालिमको व्यवस्था गर्ने हामीले सोच बनाएका छौं । दोलखाली जनता र सिंगो नेपालले नै नेकपा एमाले मात्रै विकास र समृद्धिको भिजन भएको पार्टी भएको बुझेका छन् । त्यसकारण पनि जनताले हामीलाइ भोट दिने भन्नुभएको छ ।

अहिले विदेशीहरूको चलखेल र साँठगाँठ बढेको छ । गठबन्धनहरूले कम्फर्टेबलको सरकार बनाएर नेपालको राष्ट्रियतामाथि सौदावाजी गर्ने काम गरेको छ । त्यसका विरुद्धमा नेकपा एमाले उभिएको छ । त्यसकारण गठबन्धनले निम्त्याएको हस्तक्षेपलाई पराजित गर्ने प्रतिवद्धताका साथ हामी अघि आएका छौं । स्वाभाविक रूपमा नेकपा एमालेको पक्षमा नेपाली जनता छन् ।

अन्त्यमा, निर्वाचनलाई फर्केर हेर्दा, दोलखामा अशान्त हुने घटनाहरू भएका छन्, बुथ कब्जा भएका छन् । यो पटकको निर्वाचन शान्तिपूर्ण बनाउन तपाइँहरूको तर्फबाट कस्तो भूमिका रहन्छ ?

गठबन्धनका राजनीतिक दलहरूलाई दोलखामा मात्र होइन देशभर जनताले मत दिएर जित्छु भन्ने लागेको छैन । उनीहरूको व्यक्त–अव्यक्त कुरा के हो भने हामीसँग सत्ता छ, गठबन्धन छ, हामी राज्य शक्ति प्रयोग गछौं, सुरक्षा निकाय, कर्मचारी परिचालन गर्छौं र लुटेर जित्छौं । केही उम्मेदवारले अहिले त्यहि कुरा प्रचार गरेर पनि हिँडेका छन् ।

२०५१ सालमा चुनाव लड्दा नेपालकै सम्मानित नेता भीमबहादुर तामाङ्ख मेरो प्रतिस्पर्धी हुनुहुन्थ्यो । त्यतिबेला ६ ठाँउ मतदान केन्द्र कब्जा गरेर आफैँ बसेको झुलेमा पनि १७ सय ४ मतमा पनि १७ सय १ मत हालेर मलाई पराजित गरिएको थियो । यो बुथ कब्जा गर्ने र बुथ लुट्ने काम त्यतिबेला देखि नै नेपाली कांग्रेसले गर्दै आएको छ । त्यस्तै, २०६४ मा नेकपा माओवादीले पनि बुथ कब्जा गरेको छ । यस्तो लुट संस्कृतिप्रति म घोर आपत्ति जनाउँछु । वास्तवमा कांग्रेस र माओवादी केन्द्रको त्यस्ता गलत कामले दोलखा जिल्ला राष्ट्रमै बदनाम भएको छ । म राजनीतिक दलहरूलाई जनताको अधिकारलाई सम्मान गर्न आग्रह गर्दछु ।

हामीले निर्वाचन आयोगको आचासंहिता जस्ताको तस्तै पालना गरेका छौं, रक्षा पनि गरेका छौं । दलहरूलाई पालनाका लागि आह्वान पनि गरेका छौं । तर बुथ लुटेर, प्रोक्सी मत खसालेर जित्ने सपना उहाँहरूले देख्नुभएको छ भने नेकपा एमालेको अहिले तागत सुषुप्त बस्दैन । हामी त्यो मान्यता पनि राख्दैनौं । तर उहाँहरूले अशान्तिकै बिउ रोप्नुहुन्छ भने हामी जस्ताको तस्तै प्रतिवाद गर्छाैं ।

म राजनीतिक दल र गठबन्धनलाई के आग्रह गर्छु भने, त्यो तहसम्म परिस्थिति नपुर्‍याउनुस् । प्रजातन्त्रको सुन्दर पक्षको रक्षा गरौं, अतिरिक्त क्रियाकलापहरूबाट पछि हटौं भन्ने आह्वान गर्न पनि चाहन्छु । यसलाइ नेकपा एमालेको कमजोरी पनि नठानियोस् । यदि उहाँहरू त्यस्तै ढङ्गले आउनुभयो भने हामी ‘टिट फर ट्याट’को बाध्यताबाट जानुपर्ने अवस्था आउनसक्छ । तर त्यस्तो परिस्थिति आउनेछैन भन्ने मेरो विश्वास छ ।

प्रतिक्रिया
सम्बन्धित