
काठमाडौं, २७ कात्तिक । काठमाडौंको धुम्बाराहीस्थित कान्तिपुर इंग्लिस हाइ स्कुलले विद्यालय स्तरका खेलाडीहरूमा पोषण, चोटपटक र कार्डियोको प्रभावबारे कार्यशाला गोष्ठी आयोजना गरेको छ ।
चार दशकअघि स्थापना भएको स्कुलले तीन दिने कार्यशाला शुक्रबार सम्पन्न गरेको हो । जुनियर फुटबल एकेडेमी (जेएफए स्पोर्टस् प्रालि) को सहकार्यमा नेपाली खेलकुदको क्षेत्रमा काम गर्दै आएका दुई डाक्टरहरूको उपस्थितिमा स्कुलले कार्यक्रमको आयोजना गरेको हो ।

नेपाली राष्ट्रिय महिला भलिबल टीमका फिजियोथेरापिस्ट समेत रहेका स्पोर्टस् फिजियोथेरापिस्ट डा. उज्ज्वल डोटेल तथा एमपीटी कार्डियोरेस्पिरेटोरी फिजियोथेरापिस्ट डा. आशिष गुरुङले विद्यालय खेलकूदमा सहभागिता जनाउँदै आएका खेलाडी तथा उनीहरूका अभिभावकहरूलाई विषयबारे जानकारी दिएका थिए । खेलको दौरान हुनसक्ने सम्भावित दुर्घटना र सो समयमा नजिकै रहेकाले कसरी उद्धार कार्य गर्ने भन्ने जानकारी प्रस्तुत गरेका थिए ।
उनीहरूले चोट न्यूनिकरणको लागि खेलाडीहरूले ध्यान दिनुपर्ने कुराहरू, सावधानी अपनाउँदा पनि हुने दुर्घटनामा के गर्ने ?, बारम्बार चोट लागेको अवस्थामा के गर्ने ? जस्ता कुराहरूलाई सैद्धान्तिक तथा प्रयोगात्मक तरिकाले प्रस्तुत गरेका थिए ।

विद्यालयस्तरमा नै खेलाडी तथा अभिभावकहरूलाई पोषण, चोटपटकबाट बच्ने उपाय तथा कार्डियोबारे जानकारी दिएमा उनीहरू अहिलेदेखि नै सचेत बन्ने र खेलाडी बन्ने सपनामा सघाउ पुर्याउने भएकोले वर्कशपको आयोजना गरेको स्कुलका प्रिन्सिपल सुभद्रा श्रेष्ठले जानकारी दिइन् ।
गुणस्तरीय औपचारिक शिक्षासँगै स्कुलले अतिरिक्त क्रियाकलापमा विद्यार्थीहरूलाई निरन्तर सहभागी गराइरहन र नतिजा ल्याउनको लागि यस्ता कार्यक्रम गरिरहने श्रेष्ठको भनाई छ ।















प्रतिक्रिया