
भक्तपुर, २६ कात्तिक । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महेश बस्नेतले भक्तपुरका जनताको विकास र समृद्धिको सपना पूरा भक्तपुरनिवासी एमाले अध्यक्ष केपी ओली र महेश बस्नेत भएपछि पूरा हुने विश्वास व्यक्त गरेका छन् ।
आज शनिबार सूर्यविनायक नगरपालिका–५ मा आयोजित क्षेत्र नं. २ ‘क’ सूर्यविनायक प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै नेता बस्नेतले भक्तपुर र मुलुकै विकासको लागि एमालेको विकल्प नभएको दाबी गर्दै एमाले विकासको पर्यायवाची भएको बताए ।
उनले केपी ओली नेतृत्वको सरकारको समयमा भक्तपुरको विकास जिल्लाको लागि ऐतिहासिक भएको बताउँदै संघीय सरकारबाट मात्र २६ अर्ब रूपैयाँ भन्दा बढी बजेट ल्याई सडक, ढल, खानेपानी, विद्यालयका भवन, स्वास्थ्य चौकीका भवन, पुललगायतका साना तथा ठूला आयोजनाहरू सञ्चालन गरिएको स्मरण मतदातालाई गराए । बजेट समयले ल्याएको हो भन्ने कांग्रेसलाई आफ्नो नेतृत्वमा बनेको सरकारको १८ महिनामा कति बजेट ल्याउन सफल हुनुभयो भन्दै उनले प्रश्न पनि गरेका छन् ।
‘एमालेको सरकार भएको समयमा भक्तपुरमा मात्र होइन, देशैभर जनताको माग, चाहना र आवश्यकता अनुसारको साना तथा ठूला असंख्य विकास निर्माणका कार्यहरू भएका थिए । वर्तमान गठबन्धनको सरकार अएपछि विकासले दशैमा जुठो परेको समय जस्तै भएको छ,’ बस्नेतले भने, ‘चालू आयोजनाहरू समेत बन्द भएका छन् । त्यसैले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई जनताहरू विजयी गराउन आतुर हुनुहुन्छ ।’
भक्तपुरका जनता सचेत रहेको भन्दै उनले एमालेले गरेको विकास र समृद्धिको यात्रालाई बुझेर सूर्यमा मतदान गर्ने विश्वास व्यक्त गरे । ‘मंसिर ४ पछि एमालेको सरकार बन्ने छ । आम नेपाली युवा तथा जनताको ‘बा’ केपी ओली प्रधानमन्त्री बन्नुहुनेछ । त्यसपछि तपाइँहरूको ‘दाइ’ वा ‘भाइ’ महेश बस्नेत सँगै हुनेछ । केपी ‘बा’ र महेश ‘दाइ’ वा ‘भाइ’ भएपछि भक्तपुरका जनताले चिन्ता गर्नुपर्दैन ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि एक कार्यक्रममा मंसिर ६ गते प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुने भनि दिएको गलत अभिव्यक्तिलाई लक्षित गर्दै नेता बस्नेतले भने, ‘आदरणीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूले नै भन्भुभएजस्तो कांग्रेससहितका गठन्धनलाई ६ गते मात्र जनताले भोट हाल्नेछन् ! तर, एमालेलाई मंसिर ४ गते नै जनताले मतदान गरिसक्नुहुनेछ ।’
निर्वाचनको घोषणा गर्ने प्रधानमन्त्रीले नजिकै रहेको चुनावको तिथि–मिति समेत बिर्सिने भन्दै उनले देउवाबाट जनताले के अपेक्षा गर्ने भन्दै प्रश्न गरे ।















प्रतिक्रिया