
दाङ, २६ कात्तिक । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकार गठन भएपछि मुलुकमा विकासका काम ठप्प भएको बताउँदै विकासका काम गर्ने दल र उम्मेदवारलाई विजयी बनाई काम गर्ने अवसर दिन मतदातासँग आग्रह गरेका छन् ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार प्रसारका क्रममा दाङको घोराही उपमहानगरपालिका–१३ मा आज शनिबार आयोजित कार्यक्रममा महासचिव पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा भएका दर्जनौँ महत्वपूर्ण कामहरूको स्मरण गराउँदै देशको विकास गर्ने र नगर्ने पार्टी छु्ट्याएर मतदान गर्न आग्रह गरेका हुन् ।
अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका ४१ महिनामा विकासका कामले लिइरहेको गति र वर्तमान गठबन्धन सरकारका १६ महिनाको जनताले तुलना गरी कसले विकास गर्छ भन्ने कुरा बुझेर आगामी मंसिर ४ गते हुन गइरहेको निर्वाचनमा मतदान गर्नुपर्ने पोखरेलको भनाइ छ ।
‘विकासका काम विना आग्रह, पूर्वाग्रह अगाडि बढाउनुपर्छ तर अध्यक्ष ओली नेतृत्वको सरकारले अगाडि बढाएका कयौं विकास योजनाको बजेट वर्तमान गठबन्धन सरकारले कटौती गरेको छ र ती काम अहिले अलपत्र अवस्थामा छन्,’ महासचिव पोखरेलले भने ।
दाङ–२ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेका पोखरेलले देश र जिल्लाको विकास निर्माणका कामलाई पुन: गतिका साथ अगाडि बढाउन केन्द्र र प्रदेशमा एमालेको सरकार बन्नुपर्नेमा जोड दिएका छन् ।
गठबन्धन सरकार बनेयता मुलुकको अर्थतन्त्र ओरालो लागिरहेको, महङ्गी ९ प्रतिशतको हाराहारीमा उक्लिरहेको र विकासका काम ठप्प भएको बताउँदै उनले भने, ‘परिवारको मुली खराब भए परिवारै बिग्रन्छ । देशको मुली खराब हुँदा देशै बिग्रन्छ । अहिले हाम्रो अवस्था त्यस्तै भएको छ, अयोग्यहरूले देशको शासन सत्ता चलाउँदा देश र जनताले दु:ख पाइरहेका छन् ।’ महासचिव पोखरेलले केन्द्रबाट नेपाली काँग्रेस र प्रदेशबाट माओवादीले विकास बजेट कटौती गरिरहेकाले उनीहरुले विकास गर्छौं भनेर भाषण गर्नुको कुनै अर्थ नभएको बताएका छन् ।
२०७४ सालको निर्वाचनमा दङाली जनताले विजयी बनाएर पठाएपछि आफूले त्यसबेला प्रतिबद्धता जनाएका अधिकांश काम सम्पन्न गरेको स्मरण गराउँदै महासचिव पोखरेलले भने, ‘दाङलाई वरिपरिका छिमेकी जिल्लाहरूसँग सडक सञ्जालले जोड्ने, जिल्लाभित्र सडकको विस्तार, स्तरोन्नति र कालोपत्र गर्ने काम भएका छन् । शिक्षा, स्वास्थ्य, खानेपानीका धेरै कामहरू गरिएको छ । औद्योगिक क्षेत्र स्थापनाका लागि साढे पाँच सय विगाहा जग्गा छुट्याई हस्तान्तरण पनि भएको छ । अब हामी निर्वाचित भएर गएपछि त्यो काम पनि हुने छ र दङालीहरूलाई रोजगारीको अवसर समेत सृजना हुने छ ।’
महासचिव पोखरेलले प्रदेश राजधानीको प्रसङ्ग जोड्दै भने, ‘नेपाली काँगेस र माओवादी सरकारमा रहेको समयमा अन्यत्रै तोकिएको प्रदेश राजधानी दाङमा फिर्ता ल्याउने काम भएको छ । त्यो काम मुख्यरूपमा कसले गर्यो भन्ने यहाँहरूलाई थाहै छ । हामीले राजधानी दाङमा हुने निर्णय गर्यौँं, राजधानी सार्ने काममा ढिलाई भइरहेको छ, त्यो काम पनि हामीले नै गर्ने हो ।’ उनले दाङमा शहरीकरणको योजना रहेको पनि बताएका छन् ।















प्रतिक्रिया