
इलाम, २५ कात्तिक । नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मतदातासामु दईवटा वाचा गरेका छन् ।
इलाम क्षेत्र नं २ मा गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति डम्बर खड्कासँग मुख्य प्रतिस्पर्धामा रहेका उनले चुनावीसभामा भने, ‘म धेरै आश्वासन बाँड्दिन, मात्र दुइटा कुरा भन्छु, पहिलो म तपाइँहरूको शीर निहुरिने काम कहिले गर्नेछैन र अर्को यस क्षेत्रका जनताको दुःख, अभाव र समस्यामा मलम लगाउन सधैँ हाजिर हुनेछु ।’
आफ्नो नेतृत्वमा संविधान जारी गरेर इलामे जनताको शीर उँचो बनाएको दाबी गर्दै उनले भने, ‘सदासर्वदा जुनसुकै काम गर्दा यहाँहरूलाई सम्झिएर काम गर्नेछु । यहाँका प्रत्येक समस्या समाधान गर्नेमा मेरो समर्थन रहनेछ ।’
नेम्वाङ पाँचाँै पटक आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । उनले विसं २०५६ यता लगातार चुनाव जित्दै आएका छन् । गत निर्वाचनमा कांग्रेस उम्मेदवार केशव थापा करिब साढे नौ हजार मतान्तरले नेम्वाङसँग पराजित भएका थिए । अगाडिका चार निर्वाचनमा सहज जित हासिल गरेका नेम्वाङ दुईपटक संविधानसभाको अध्यक्ष बने ।
उक्त क्षेत्रबाट गठन्धनका उम्मेदवार कांग्रेसका खड्का नेम्वाङ हराउने अभियानमा कस्सिएर लागेका छन् । इलामको पश्चिमी पालिकाहरूमा विद्युत् र सडकको पहुँच नपुगेको भन्दै मतदातामा निराशा देखिन्छ । खड्का सोही विषयलाई एजेन्डा बनाएर मतदाताको घरघरमा पुगिरहेका छन् ।
अर्कातिर नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालको गृह जिल्ला भएका कारण पार्टी विभाजनको केही असर एमालेले खेप्नुपरेको छ । गत स्थानीय तहको निर्वाचनमा इलाम क्षेत्र नं २ मा वडाध्यक्षको मत एमाले र कांगेसको करिब बराबर जस्तै छ । उक्त चुनावमा वडाध्यक्षमा एमालेले पाएको मत ३२ हजार पाँच सय २७ हो भने कांग्रेसको पक्षमा ३२ हजार नौ सय ७८ मत प्राप्त थियो ।
यसैगरी नेकपा (माओवादी केन्द्र) को दुई हजार ७१७, जसपाको ५५४, एकीकृत समाजवादीको २७७ र राप्रपाको १३० मत छ । इलाम जिल्लाका लागि कूल मतदाता दुई लाख २४ हजार ४७७ रहेका छन् । स्थानीय तहको निर्वाचनयता जिल्लामा १२९ मतदाता थपिएका छन् ।
इलाम क्षेत्र नं २ मा मात्र एक लाख चार हजार ९४२ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय इलामले जानकारी दिएको छ ।















प्रतिक्रिया