१ कार्तिक २०८३, आइतबार

गुल्मीमा ठगी गर्ने गठबन्धनका नेताहरूविरुद्ध १५ दिने सूचना जारी

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गुल्मी, २५ कात्तिक । सहकारीमार्फत ठगी धन्दा चलाउने गुल्मीका सत्ता गठबन्धन दलका नेताहरूविरुद्ध युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १५ दिने सूचना जारी गरेको छ ।

जिल्लाको मालिका गाउँपालिका–८ स्थित मधुवन बचत तथा ऋण सहकारी संस्थाविरुद्ध कोषले कर्जा चुक्ता गर्न सूचना प्रकाशन गरेको हो ।

सहकारीका नाममा जारी सूचनामा भनिएको छ, ‘युवा तथा खेलकुद मन्त्रालय, युवा तथा साना व्यवसायी स्वरोजगार कोषसँग २०६९ सालमा मौका सम्झौता गरी लिएका ऋण आजको मितिसम्म पनि चुक्ता नभएकाले आजको मितिले १५ दिन भित्र कोषलाई बुझाउनुपर्ने सावाँ व्याज र हर्जनासहितको सम्पूर्ण रकम बुझाउनका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

तोकिएको समयमा रकम नबुझाए संस्थाका सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति एवम् कर्जा उप–समितिमा रहेकाहरूको तीनपुस्ते विवरण समावेश गरी राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित गरिने चेतावनी कोषले दिएको छ । यसरी सूचना प्रकाशित गर्दा ऋण सम्झौता गर्दाको समितिदेखि हालसम्मका समितिका व्यक्तिहरू समावेश हुने पनि कोषले प्रष्ट पारेको छ ।

को–को छन् मधुवन सहकारीका अध्यक्ष र सञ्चालक ?

ऋण तिर्न भन्दै कोषले अल्टिमेटम दिएको मधुवन सहकारीमा मनोज चन्द्र बेगम अध्यक्ष, सूर्यबहादुर बुढा उपाध्यक्ष, सूर्यबहादुर जीसी सचिव र ज्ञानबहादुर बुढा कोषाध्यक्ष छन् । यीमध्ये सूर्यबहादुर बुढा मालिका–७ का वडा सदस्य, सूर्यबहादुर जीसी मालिका–८ का अध्यक्ष र ज्ञानबहादुर बुढा मालिका–३ का अध्यक्ष छन् । उनीहरू माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष र सदस्य हुन् ।

उनीहरूले नेतृत्व गरेको सहकारीमा उनीहरूले नै गरेको व्यापक आर्थिक हिनामिनाबाट अहिले मधुवन सहकारी सङ्कटग्रस्त अवस्थामा छ ।

मधुवन सहकारी संस्थाले तत्कालीन चन्द्रबहादुर थापा सांसद भएको बेला युवा स्वरोजगारको नाममा भित्र्याएको दुई करोड रूपैयाँ भन्दा बढी रकमको कुनै हिसाब छैन् । त्यो बाहेक स्थानीयसँग १ देखि ५ हजार रूपैयाँसम्म उठाएर सङ्कलन गरेको रकमको समेत हिसाब किताब छैन् ।

सहकारीको पदाधिकारीमै रहेकाहरूले सो रकम दुरूपयोग गरेपछि स्थानीयले लामो समयदेखि बिरोध गरिरहेका छन् । तर, कोष नै सक्रिय नभएको कारण उनीहरू गुमनाम थिए । अहिले कोषले सार्वजनिक सूचना प्रकाशन गरेपनि नेताका रूपमा उदायका सहकारीका सञ्चालकहरूको निदहराम भएको छ ।

सहकारीका नाममा यत्तिका रकम ठगी गर्ने उनीहहरू नै अहिले जनप्रतिनिधिका रूपमा खडा छन् । त्यतिमात्र होइन सत्ता गठबन्धनका उम्मेदवार जिताउने चुनावी कमाण्डरको भूमिका समेत उनीहरूले नै निर्वाह गर्दै आएका छन् ।

हेर्नुस् कात्तिक १५ गते कान्तिपुर दैनिकमा प्रकाशित १५ दिने सूचना–